२०८३ भाद्र ३ गते , बुधबार

भद्रपुरलाई उपमहानगरपालिका बनाउन सर्वपक्षीय सहमति, सीमाना हेरफेरको समेत सिफारिस

sajilo news
झापा
२०८३ भाद्र ३ गते , बुधबार
भद्रपुरलाई उपमहानगरपालिका बनाउन सर्वपक्षीय सहमति, सीमाना हेरफेरको समेत सिफारिस

भद्रपुर । झापाको भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार भद्रपुर नगरपालिकाले बुधबार सर्वपक्षीय भेला आयोजना गरी यस्तो निर्णय गरेको हो ।

भद्रपुर नेपालको पुरानो र ऐतिहासिक नगरपालिका हो । नेपालकै चौथो नगरपालिकाका रूपमा २००८ सालमै नगरपालिका घोषणा भएको भद्रपुर लामो समयदेखि झापाको प्रशासनिक, व्यापारिक तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै आएको छ । मेची नदीसँग जोडिएको सीमा क्षेत्र, भारतसँगको पुरानो व्यापारिक सम्बन्ध तथा जिल्लाको सदरमुकामका रूपमा रहेको ऐतिहासिक भूमिकाले पनि भद्रपुरको छुट्टै पहिचान बनाएको छ ।

यही ऐतिहासिकता, वर्तमान भौगोलिक अवस्था, जनघनत्व तथा शहरी पूर्वाधारको विकासलाई दृष्टिगत गर्दै हाल कायम भद्रपुर नगरपालिकाको भूगोललाई आधार मानी आवश्यकता र स्थानीय सहमतिका आधारमा सीमाना जोडिएका भूभागसमेत समावेश गरी उपमहानगरपालिका कायम गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता तथा सहजीकरणमा भएको सर्वपक्षीय भेलामा उपप्रमुख राधा कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वनगरप्रमुख, वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

भेलामा नेपाली कांग्रेसका रमेश झा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम न्यौपाने, नेकपा एमालेका असारु राजवंशी, श्रम संस्कृति पार्टीका नरदिप लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार राई, पूर्वनगरप्रमुख भारतेन्दु मल्लिक र पुष्पराज पोखरेललगायतले धारणा राखेका थिए ।

त्यस्तै वडा नं. १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, वडा नं. ४ का हंसलाल राजवंशी, वडा नं. ५ का बन्धु कार्की, वडा नं. ६ का रतिया राजवंशी, वडा नं. ७ का अभिषेक ढुंगाना, वडा नं. १० का टेकबहादुर खड्का काजी, भद्रपुर–९ का समाजसेवी रुद्र निरौला तथा पत्रकार चिन्तामणि दाहाललगायतले पनि भद्रपुरको भावी संरचना र उपमहानगरपालिकाको आवश्यकताबारे धारणा राखेका थिए ।

भेलामा सहभागी अधिकांशले भद्रपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने विषयमा समान धारणा राखेपछि सर्वसम्मत रूपमा सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

भेलाले भद्रपुर नगरपालिकाको सीमाना र वडा संरचनासम्बन्धी केही विषयमा समेत सिफारिस गर्ने निर्णय गरेको छ । वडा नं. ७ को एक भाग मेची नदीपारि रहेकाले हाल नगरपालिकाको अन्य भूभागसँग सीमाना नजोडिएको अवस्थामा त्यस क्षेत्रलाई सीमाना जोडिएको वडा नं. ५ मा समावेश गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।

यसैगरी भद्रपुर नगरपालिका वडा नं. ९ र १० लाई संघीय निर्वाचन क्षेत्र नं. १ मा राखिएको भए पनि ती दुवै वडालाई साविककै निर्वाचन क्षेत्र नं. ३ मा कायम गर्न आवश्यक रहेको भेलाले ठहर गरेको छ ।

सीमाना हेरफेर आवश्यक देखिएका अन्य वडाका भूभागलाई पनि स्थानीय बासिन्दा र सम्बन्धित वडा कार्यालयको राय तथा सहमतिका आधारमा एक–अर्कामा मिलाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख पोखरेलले बताए ।

भेलाअघि नगरपालिकाका अधिकृत नेत्र पोखरेलले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ का विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

ऐतिहासिक रूपमा लामो समयदेखि प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा विकास हुँदै आएको भद्रपुर पछिल्लो समय सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग तथा व्यापारिक पूर्वाधारका क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । नगरको विद्यमान संरचना र आसपासका क्षेत्रको सम्भावित समायोजनसँगै उपमहानगरपालिका बनेमा पूर्वी नेपालको महत्वपूर्ण शहरी केन्द्रका रूपमा भद्रपुरको भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार