सन्थाल नृत्यमा झापा गाउँपालिका प्रथम
झापाको बिर्तामोड -१० सैनिक बजारमा बडादशैं २०८३ को अवसरमा आयोजित बृहत् बिर्तामोड सन्थाल मेला सन्थाल जातीय दशहरा नाच प्रतियोगितामा सिधोकानो क्लब झापा गाउँपालिका-१ प्रथम भएको छ।
जिल्लाका १० वटा सन्थाल नृत्य टोलीको सहभागिता रहेको प्रतियोगितामा दोस्रो र तेस्रो स्थान क्रमशः सन्थाल युवा क्लब कचनकबल-४ र कालीमुडा युवा क्लब, कनकाई-७ले हात पार्न सफल भएका थिए। प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने नृत्य समूहलाई क्रमशः ४० हजार,२०हजार र १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो भने अन्य बाँकी सहभागी नृत्य समूहलाई ५/५ हजार प्रदान गरिएको थियो।
सोही अवसरमा मञ्च व्यवस्थापनमा सहयोग गर्ने टीका राय र साउन्ड स्टममा सहयोग गर्ने अमृत बोहोरालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सैनिक बजार मेला समितिका अध्यक्ष कविता घले गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेतले कार्यक्रमको औचित्यसहित स्वागत गरेका थिए।
बिर्तामोड -१० वडा कार्यालयको आर्थिक सहयोग र सैनिक युवा समूहको सहआयोजनमा भएको कार्यक्रममा यसअघि दुर्गा पूजा दशहरा कार्यक्रम सम्पन्न थियो।
जातीय भेषभूषासहित उत्साहपूर्ण सामूहिक नृत्य प्रस्तुति रहेको मौलिक, संस्कृति झल्कने सन्थाल नृत्य हेर्ने दर्शकको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डिल्ली दंगालले गरेका थिए।