२०८३ कार्तिक २६ गते , बुधबार

आजदेखि नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

sajilo news
काठमाडौं
२०८३ कार्तिक ८ गते , शनिबार
आजदेखि नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेका हुन्।

राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो। अभियानमा सहभागिताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए।

अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाइएको, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाइएको तथा निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप गरी भय र त्रासको वातावरण सिर्जना गरिएको आरोप उनले लगाए। आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी गल्ती तथा कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाएर अघि बढ्ने प्रचण्डले बताए।

अभियानका क्रममा जनताले भोगेका समस्याहरूलाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकता अनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने प्रचण्डको भनाइ छ। नेपाल कम्युनिस्ट पार्टीको यो राष्ट्रिय जागरण अभियान आगामी मङ्सिर २५ गते समापन हुनेछ।

सम्बन्धित समाचार