२०८३ कार्तिक २६ गते , बुधबार

भद्रपुरको शिक्षा क्षेत्रमा पाँचवर्षे सुधार योजना, प्रविधिमैत्री शिक्षामा जोड

sajilo news
झापा
२०८३ कार्तिक १३ गते , विहीबार
भद्रपुरको शिक्षा क्षेत्रमा पाँचवर्षे सुधार योजना, प्रविधिमैत्री शिक्षामा जोड

भद्रपुर । झापाकै पुरानो नगरपालिकाको पहिचान बनाएको भद्रपुर नगरपालिकाले नगरको समग्र शैक्षिक विकासलाई योजनाबद्ध, गुणस्तरीय, समावेशी तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित पाँचवर्षीय नगर शिक्षा योजना पारित गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ देखि २०८६र०८७ सम्म कार्यान्वयन गर्ने गरी तयार पारेको पाँचवर्षीय आवधिक नगर शिक्षा योजना पारित गर्दै सार्वजनिक गर्ने चरणमा पुगेको हो । योजनाले आगामी पाँच वर्षमा नगरको शिक्षा क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउँदै गुणस्तरीय शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । 

नगरपालिकाको विद्यमान शैक्षिक अवस्था, उपलब्ध स्रोतसाधन, समस्या, चुनौती तथा सम्भावनाको विश्लेषण र शिक्षा क्षेत्रका सरोकारवालासँगको छलफलका आधारमा योजना तयार गरिएको हो । योजनामा शिक्षा क्षेत्रका दीर्घकालीन लक्ष्य, उद्देश्य, रणनीति, कार्यक्रम तथा अपेक्षित उपलब्धि निर्धारण गरिएको उनले बताए । 

योजनाले प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत र माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, अनौपचारिक शिक्षा, जीवनपर्यन्त सिकाइ तथा संस्थागत विद्यालयको शैक्षिक विकासलाई प्राथमिकतामा राखेको छ । यसका साथै समावेशी शिक्षा, विद्यालय सुरक्षा, भौतिक पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई पनि योजनामा समेटिएको छ ।

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको पेसागत क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि, लैङ्गिक समानता, बालमैत्री शैक्षिक वातावरण र शैक्षिक सेवामा समान पहुँच सुनिश्चित गर्ने विषयलाई विशेष महत्त्व दिइएको छ । आर्थिक अवस्था, सामाजिक पृष्ठभूमि वा अन्य कुनै कारणले बालबालिकाले शिक्षामा असमानता भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य योजनाले लिएको छ ।

विशेषगरी गरिब र धनी परिवारका बालबालिकाले प्राप्त गर्ने शिक्षाबीचको अन्तर न्यूनीकरण गर्दै समान अवसर र समावेशी शिक्षाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । शिक्षण–सिकाइ प्रक्रियालाई समयानुकूल, प्रभावकारी र प्रविधिमैत्री बनाउँदै विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिमा सुधार ल्याउने योजनाको अर्को महत्त्वपूर्ण पक्ष हो ।

योजनामा शिक्षा क्षेत्रमा उपलब्ध सीमित स्रोतसाधनको प्रभावकारी परिचालन, आवश्यक बजेटको प्रक्षेपण, प्राथमिकताका आधारमा लगानी तथा वित्तीय अनुशासन कायम गर्ने विषयलाई समेत समेटिएको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, नगरपालिकाको आन्तरिक स्रोत र विभिन्न साझेदारीबाट उपलब्ध हुने स्रोतलाई शैक्षिक विकासमा उपयोग गर्ने लक्ष्य राखिएको नगर प्रमुख पोखरेलको भनाई छ । 

त्यसैगरी, शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शिता, नतिजामा आधारित स्रोत व्यवस्थापन, नियमित अनुगमन तथा मूल्याङ्कनलाई महत्त्व दिइएको छ । विद्यालय, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, समुदाय तथा विकास साझेदारबीच समन्वय र सहकार्य बढाएर योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ ।

पाँचवर्षीय नगर शिक्षा योजनाको प्रभावकारी कार्यान्वयन हुन सके भद्रपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ । नगरको शिक्षा क्षेत्रलाई दीर्घकालीन सोचका साथ अघि बढाउन, प्राथमिकता निर्धारण गर्न र उपलब्ध स्रोतसाधनलाई व्यवस्थित रूपमा परिचालन गर्न यो योजनाले आधार तयार गर्ने अपेक्षा गरिएको शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । 

यद्यपि, योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्न पर्याप्त बजेट व्यवस्थापन, प्रभावकारी कार्यान्वयन, सरोकारवालाको सक्रिय सहभागिता र नियमित अनुगमन आवश्यक हुनेछ । योजना कागजमा सीमित नराखी विद्यालय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आगामी पाँच वर्षमा भद्रपुरको शैक्षिक गुणस्तर, समान पहुँच र सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास सम्बद्ध पक्षले गरेका छन् ।

सम्बन्धित समाचार