२०८३ कार्तिक २६ गते , बुधबार

नियमित महाधिवेशन पक्षधरहरुले झापामा उत्साहजनक रुपमा जिल्ला अधिवेशन गर्दै

sajilo news
झापा
२०८३ कार्तिक १५ गते , शनिबार
नियमित महाधिवेशन पक्षधरहरुले झापामा उत्साहजनक रुपमा जिल्ला अधिवेशन गर्दै

विभाजनपछि अल्पमतमा परेपनि नेता कार्यकर्ताहरूको साथ सहयोग पाएर नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधरहरूले झापामा उत्साहजनक रुपमा जिल्ला अधिवेशन गर्ने भएका छन् ।

संस्थापन पक्षधरहरूले जिल्ला अधिवेशनको मिति तोकी नसकेको अवस्थामा वडा , पालिका र क्षेत्रीय अधिवेशन पूरा गरिसकेर नियमित महाधिवेशन पक्षधरहरूले १५ औ महाधिवेशनअन्तर्गत भोलि बिर्तामोडमा झापा जिल्ला अधिवेशन गर्न लागेका हुन् ।

बिर्तामोडस्थित अग्रसेन भवनमा बिहान ११ बजेदेखि गरिने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला अधिवेशन प्रचार प्रसार समितिले जनाएको छ । प्रचार प्रसार समितिका संयोजक राजेन्द्र उप्रेतीले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

गत वर्षको भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको बद्लिँदो राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन गरेर गगन थापा सभापति बनेपछि काँग्रेस दुई समूहमा विभाजित छ । काँग्रेसको आधिकारिकताको विषय अदालतमा विचाराधीन छ ।

काँग्रेसका नेता कार्यकर्ताहरू विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षमा विभाजित भएको अवस्थामा नियमित महाधिवेशन पक्षधरहरूले आफूहरूको पक्षमा लगभग पचास प्रतिशत कार्यकर्ता रहेको दाबी गरेका छन् । कसको पक्षमा कति कार्यकर्ता छ भनेर आगामी निर्वाचनमा मूल्याङ्कन गर्न सकिने झापा जिल्ला अधिवेशन तयारी समितिका संयोजक कृष्ण हुमागाईँले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य महिन्द्रा लिम्बू , केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक गोमा भट्टराई, महासमिति सदस्य भगीरथ पोद्धार, निर्वाचन अधिकृत नारायणप्रसाद पौडेलले पनि जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सभापति मनोज घिमिरेले गरेका थिए ।

नेपाली काँग्रेसको १५ औं नियमित महाधिवेशनअन्तर्गत गत साउन २९,३०, र ३१ गते राष्ट्रिय सम्मेलन सम्पन्न गरेपश्चात् गत भदौ २५ गते पार्टी जिल्ला सचिव कृष्ण हुमागाईँको संयोजकत्वमा १५१ सदस्यीय झापा जिल्ला अधिवेशन तयारी समिति गठन गरी जिल्ला अधिवेशनको काम सुरु भएको थियो । यसक्रममा गत भदौ दोस्रो साताबाट १३१ वटा वडा समिति र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरिसकेर १५ वटा पालिका, १० प्रदेशसभा क्षेत्र, पाँच संसदीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको हुमागाईँले बताए ।

यसक्रममा झापा जिल्लामा ४५८५ क्षेत्रीय प्रतिनिधि, १७५ महाधिवेशन प्रतिनिधि, २०० प्रदेश अधिवेशन प्रतिनिधिको चयन भइसकेको उनले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार