भोलिदेखि भद्रपुरमा विद्यार्थी महोत्सव हुँदै, कला, विज्ञान र प्रतिभा प्रदर्शन गरिने
झापा । झापाको भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले तीनदिने ‘विद्यार्थी महोत्सव’ आयोजना हुने भएको छ ।
भद्रपुर नगरपालिकाले आफ्नो स्थापना भएको ७५औँ वर्ष अर्थात् हीरक महोत्सवको सन्दर्भ पारेर विद्यार्थी महोत्सव आयोजना गर्न लागेको हो । ‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ भद्रपुर–८ स्थित मेची रंगशालामा कात्तिक १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनात्मक क्षमता विकास गर्ने तथा विद्यालयबीच अनुभव र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरप्रमुख पोखरेलले बताए ।
यस विद्यार्थी महोत्सवले विद्यालयस्तरमा अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मकता, प्रविधि र व्यावहारिक सिकाइलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको नगर उपप्रमुख राधा कार्कीले बताइन् ।
महोत्सवमा लोकसांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हेण्डराइटिङ्ग हाजिरीजवाफ, चेस, कविता तथा वक्तृत्वकला प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । सो महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ वटा विद्यालयले सहभागिता जनाउने नगर शिक्षा प्रमुख पवित्रा ढकालले जानकारी दिइन् । भोलि (बुधवार) उद्घाटन समारोहसँगै विभिन्न प्रतियोगिता सुरु हुनेछन् । उद्घाटन सत्र मेची रंगशालामा बिहान ११ बजेदेखि हुनेछ । त्यसपछि आधारभूत तहका कक्षा १ देखि ५ र ६ देखि ८ सम्मका विद्यार्थीबीच लोकसांस्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरिने उनले बताइन् ।
सोही दिन सबै तहका विद्यार्थी सहभागी हुने विज्ञान प्रदर्शनी कार्यक्रम पनि हुनेछ । चित्रकला, हेण्डराइटिङ्ग र हाजिरीजवाफ प्रतियोगिता वीरेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ भने चेस प्रतियोगिता मेची रंगशालामा हुने नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । हाजिरीजवाफ प्रतियोगिताको फाइनल राउन्डमा आदर्श विद्या मन्दिरका विद्यार्थी सहभागी हुने तालिकामा उल्लेख छ ।
महोत्सवको दोस्रो दिन बिहीबार माध्यमिक तहका विद्यार्थीबीच लोकसांस्कृतिक नृत्य प्रतियोगिता हुनेछ । विज्ञान प्रदर्शनीलाई निरन्तरता दिइनेछ भने आधारभूत तथा माध्यमिक तहका विद्यार्थीबीच कविता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ ।
त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सम्बन्धित प्रतिनिधिबीच उत्कृष्ट नतिजा तथा व्यवस्थापन भएका विद्यालयका अभ्यास, सिकाइ अनुभव आदानप्रदान र अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ ।
यसैगरी, सोही दिन कृत्रिम बौद्धिकता (एआई) को महत्त्व, उपयोगिता र चुनौती विषयक कार्यशाला आयोजना गरिनेछ । कार्यशालामा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) फोकल पर्सनको सहभागिता रहनेछ ।
महोत्सवको अन्तिम दिन शुक्रबार मेची रंगशालामा लोकसांस्कृतिक नृत्य प्रतियोगिताका अघिल्ला दिन बाँकी रहेका समूहबीच फाइनल राउन्ड सञ्चालन गरिने छ । साथै खेलकुदतर्फका विभिन्न प्रतियोगिताको तालिका पनि तयार भइसकेको छ । खेलकुदतर्फका प्रतियोगिताका पुरस्कार खेल सम्पन्न भएकै दिन वितरण गरिनेछ । यसअघि खेलकुदतर्फको हाजिरीजवाफ प्रतियोगिताको छनोट तथा प्रारम्भिक चरण बुधवार वीरेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने छ । महोत्सव सञ्चालन गर्न करिब १० लाख रुपैयाँ लाग्ने र सहभागी विद्यार्थीहरूलाई नगरसहित पुरस्कृत गरिने जनाइएको छ ।