सिक्किम आइडलमा विश्वभरका नेपाली भाषीलाई सहभागी हुन आह्वान, झापामा पनि अडिसन
सिक्किममा आयोजना हुँदै आएको गायन रियालिटी शो ‘सिक्किम आइडल’को तेस्रो संस्करणमा विश्वभरका नेपाली भाषी गायकलाई सहभागी हुन आह्वान गरिएको छ।
सिक्किमको वार्ता टेलिभिजनले आयोजना गर्ने ‘सिक्किम आइडल इन्टरनेशनल’मा अन्ताराष्ट्रियस्तरमा सञ्चालन हुने भएको छ। मंगलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अनलाइन अडिसन शुरु भइसकेको र नोभेम्बर २५, २०२६ सम्म भिडियो पठाउन सकिने जनाएका छन्।
प्रतियोगिताका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. मनोज राईका अनुसार अनलाइन अडिसनका लागि प्रतियोगीले अधिकतम दुई मिनेटको भिडियो पठाउनुपर्नेछ। भिडियो ल्याण्डस्केप मोडमा हुनुपर्ने, अनुहार र आवाज स्पष्ट सुनिने हुनुपर्ने तथा ब्याकिङ ट्रयाक वा कराओके प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। प्रतियोगीले एउटा वाद्ययन्त्रको साथमा भने गीत प्रस्तुत गर्न सक्नेछन्।
भिडियो पठाउँदा प्रतियोगीले आफ्नो नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर र आफूलाई सहज हुने भौतिक अडिसन केन्द्रको विवरणसमेत खुलाउनुपर्नेछ। भिडियो ह्वाट्सएप नम्बर ६२९६५२९८१३ वा +९१ ९४७५३७१००२ मा पठाउन सकिनेछ। प्रतियोगितामा सहभागी हुन न्यूनतम १५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ।
आयोजकका अनुसार नोभेम्बर ३० मा काठमाडौँ, देहरादुन र बिर्तामोडमा भौतिक अडिसन हुनेछ। डिसेम्बर ३ मा गुवाहाटी, सिलिगुडी, दार्जीलिङ र कालिम्पोङमा तथा डिसेम्बर ६, ७ र ८ मा सिक्किममा अडिसन सञ्चालन गरिनेछ। काठमाडौंको अडिसनस्थल भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले भारतीय रुपैयाँ १० लाख, दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख पुरस्कार पाउनेछन्। प्रतियोगीको लोकप्रियता सामाजिक सञ्जालमा प्राप्त लाइक र सेयरका आधारमा मूल्यांकन गरिने भए पनि त्यसका लागि कुनै पनि मौद्रिक भोटिङ गर्नुपर्ने छैन।
प्रतियोगिताका संरक्षक सञ्जय राईले सिक्किमका कलाकारलाई अन्ताराष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगितालाई विस्तार गरिएको बताए। उनले सिक्किम आइडलका अघिल्ला दुई संस्करणबाट आएका कलाकारले आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरे।
आयोजकले सिक्किम र नेपालको सांस्कृतिक तथा भाषिक सम्बन्धलाई प्रतियोगितामार्फत थप बलियो बनाउने अपेक्षा गरेको छ। नेपाली भाषी कलाकारका लागि अन्ताराष्ट्रिय स्तरको अवसर सिर्जना गर्ने र उनीहरूको प्रतिभालाई विश्वसामु पुर्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
प्रतियोगितालाई अन्ताराष्ट्रिय स्वरूप दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अभिभावकत्व तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको पहल रहेको आयोजकले जनाएको छ।