२०८३ कार्तिक २६ गते , बुधबार

ट्रम्पलाई मार्ने धम्कीसहित इरानमा विशाल होर्डिङ बोर्ड

sajilo news
रासस
२०८३ कार्तिक १८ गते , मंगलबार
ट्रम्पलाई मार्ने धम्कीसहित इरानमा विशाल होर्डिङ बोर्ड

तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा राखेको छ । मङ्गलबार सार्वजनिक गरिएका ती प्रचार सामग्रीमा ट्रम्पको आलोचना गर्दै बदलाको चेतावनी दिइएको छ ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ । त्यसमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानका विभिन्न स्थानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका प्रचार सामग्री राखिँदै आएका छन् ।

यसैबीच, तेहरान र वासिङ्टनलाई वार्ताको टेबलमा ल्याउन पछिल्ला दिनमा नयाँ कूटनीतिक प्रयास भइरहेका छन् । मध्यपूर्वमा फैलिएको युद्ध पुनः चर्किन नदिन यस्तो प्रयास गरिएको हो । उक्त युद्धका कारण विश्वभर मूल्यवृद्धि भएको छ ।

अमेरिकामा मङ्गलबार महत्वपूर्ण मध्यावधि निर्वाचन हुँदै गर्दा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन् । इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो ।

उत्तरी तेहरानको व्यस्त ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न चित्र राखिएका छन् । एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्को व्यक्तिको खुट्टा उनको टाउकोमाथि रहेको चित्रण गरिएको छ ।

अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ । उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित देखिन्छ ।

प्रदर्शनीनजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ । त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन् । त्यसको छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्य देखाइन्छन् ।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ । ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको इरानको दाबी छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ बोर्ड र भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ । यस्ता प्रचार सामग्रीमार्फत सहयोगी राष्ट्र तथा सैन्य व्यक्तित्वको प्रशंसा गर्ने र विशेषगरी अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रलाई राजनीतिक सन्देश दिने गरिन्छ ।

सम्बन्धित समाचार