झापाको दोमुखामा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप, दुई वन कर्मचारी घाइते
अवैध काठ नियन्त्रण लिने क्रममा झापा शिवसताक्षीको दोमुखामा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप भएको छ । गएराति ९ः२० बजे शिवसताक्षी १० दोमुखा स्विमिङ पुलमुनि कनकाई माई नदीमा ४ वटा गाडीको ट्युबमा सखुवा जातको विभिन्न साइजको २१ थान (अन्दाजी२२ कि.बि.) काठ अवैध चोरी तस्करी गरी लान खोज्ने क्रममा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो ।
१५–२० जनाको सङ्ख्यामा रहेका काठ तस्करहरूले ढुङ्गा हानेपछि सुरक्षाकर्मीहरूले पनि ढुङ्गा हानेका थिए । काठ तस्कहरुले हानेको ढुंगाले लागेर वन हेरालु शिवसताक्षी वडा नम्बर १० माईधार बस्ने वर्ष ४० का भोला थपलिया र सोही ठाउँ बस्ने वन समितिका सदस्य वर्ष ३८ का बुद्धकुमार लिम्बू घाइते भएका छन् । थपलियाको निधार र दाहिने खुट्टामा चोट लागेको छ । उनको कनकाई नगर अस्पताल सुरुङगामा उपचार भइरहेको छ । त्यस्तै देब्रे कुईनोमा चोट लागेका लिम्बूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ ।
अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी सहायक निरीक्षक गणेशप्रसाद यादवको कमान्डमा ४ जना र गैँडे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामध्वज लावतीको कमान्डमा १० जना गरी जम्मा १४ जनाको संयुक्त टोली खटिएको थियो । ढुंगाले लागेर घाइते भएपनि सुरक्षाकर्मीहरूको टोलीले काठ नियन्त्रणमा लिन सफल भएका छन् ।
सो काठ नियन्त्रणमा लिई गैँडे सामुदायिक वनमा बुझाइएको र ढुङ्गा हान्ने मानिसहरू फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । ,