मेचीनगरमा लागुऔषध दुर्व्यसनसँगै चोरीका घटना बढे, स्थानीय त्रसित
मेचीनगर । झापाको मेचीनगरमा लागुऔषध दुर्व्यसन र चोरीका घटनाले स्थानीय बासिन्दाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । लागुऔषध प्रयोगकर्ताको संलग्नतामा घरभित्रै पसेर धनमाल चोरी गर्ने क्रम बढ्दै गएपछि स्थानीय त्रसित बन्न थालेका छन् । चोरीका घटना नियन्त्रण गर्न र लागुऔषधको स्रोत पहिचान गर्न प्रहरीको प्रभावकारी अनुसन्धान नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउन थालेका छन् ।
मेचीनगर–१४ प्रगति टोलस्थित युवराज–शान्ता उप्रेतीको घरमा चोरी भएको थियो । शुक्रबार राति घरको झ्यालबाट भित्र पसेको चोरले दुईवटा काठका दराजको ताला फुटाएर सुन, चाँदी, नगद र खुत्रुकेसमेत चोरी गरेको पीडित परिवारले जनाएको छ । परिवारका अनुसार एक तोला चार आना सुन, पाँच तोलाभन्दा बढी चाँदी, नगद २० हजार रुपैयाँ र खुत्रुकेमा रहेको रकम चोरी भएको छ । चोरीबाट तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको परिवारको भनाइ छ । स्थानीय मन्दिरमा आयोजित पालो कीर्तनको व्यवस्थापन गरेर परिवार घर फर्किएको करिब १५ मिनेटमै चोरी भएको थियो ।
छोटो समय घर खाली हुँदा चोरले घरभित्र प्रवेश गरेर दराजका ताला फुटाई धनमाल लिएर फरार भएको घटनाले टोलवासीलाई थप सशङ्कित बनाएको छ । चोरीपछि स्थानीय युवाहरूको संस्था युवा अभियान नेपालको अगुवाइमा खोजी सुरु गरिएको थियो । सोही क्रममा हडिया खोलातर्फ भाग्दै गरेको अवस्थामा चोरीमा संलग्न भएको आशङ्कामा एक राजवंशी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी चौकी चारआलीमा बुझाइएको थियो । प्रहरीले शनिवार पक्राउ परेका व्यक्ति र अन्य दुई शङ्कास्पद व्यक्तिका अभिभावकसँग छलफल गरेपछि उनीहरूलाई तारेखमा रहने गरी अभिभावकको जिम्मा लगाएको जनाएको छ ।