माईखोलामा पौडी खेल्ने क्रममा दाजुभाइको डुबेर मृत्यु
इलाम । इलामको माईजोगमाई–५ का ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकाल हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो।
सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्रले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बर बहादुर ढकालका कान्छो छोरा प्रवीन खाल्डोमा डुबेपछि भाइलाई बचाउन गएका साइँलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय जनप्रतिनिधि, प्रहरीले उनीहरुको शव निकाली पोष्टमार्टमका इलाम अस्पताल ल्याइएको छ। दाजुभाइको एकै दहमा मृत्यु भएपछि ढकाल परिवारसहित सिंगो गाउँ नै शोकमा परेको छ।
यता इलाम माङ्सेवुङ गाउँपालिका वडा नं। ६ मावाखोला किनारमा अपरिचित पुरुषको बेवारिसे लास फेला परेको छ। अन्दाजी ६० वर्षका देखिने शवको अनुहार तथा शरीरको भागमा किराऔंसासमेत परिसकेो अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए।
प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।