हलुवागढ वनमा आर्थिक अनियमितता : ताला तोडिएको विषयमा काँग्रेस र राप्रपाको आपत्ति
समाचार फलोअप
(अमित खम्बु) अर्जुनधारा । झापाको अर्जुनधारा–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा लगाइएको ताला तोडिएको विषयमा स्थानीय दुई वटा राजनीतिक दलले आपत्ती जनाउँदै घटनाको निन्दा गरेका छन् । आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरुको आधारमा असन्तुष्ट उपभोक्ताहरुले गत आइतबार लगाएको ताला सोमबार साँझ तोडिएको अवस्थामा भेटीएपछी नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार प्रेस विज्ञप्तिमार्फत् उक्त कार्यप्रति आपत्ती जनाउँदै घटनाको निन्दा गरेका हुन् ।
नेपाली काँग्रेस वडा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सभापति नेत्रप्रसाद आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टी वडा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष गोविन्द त्रिखत्रीले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमार्फत् उपभोक्ताहरुको तर्फबाट गरिएका मागहरु तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै नेपाली काँग्रेस वडा समितिले पुनः समूहको कार्यालय कक्ष र बैठक कक्षमा तालाबन्दी गरेको छ । तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस वडा समितिले समूहको कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
त्यसैगरी आर्थिक अनियमितता भएको तथ्यपरक बुँदाहरु समावेश गरी उपभोक्ताहरुको तर्फबाट लगाइएको ताला तोड्ने कार्यले समूहमा मुठभेड हुने अवस्था आएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्य निषेधको राजनीति भएकोले सो कार्य अत्यन्त निन्दनीय भएको भन्दै राप्रपा वडा समितिले प्रेस विज्ञप्ति मार्फत् घोर भत्सर्ना र आपत्ती गरेको छ । नेपाली काँग्रेसद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा ताला तोडिएको विषयमा आफूलाई जोडेर आरोप लगाए पनि उक्त आरोपमा सत्यता नभएको समूहका अध्यक्ष चक्र तामाङले प्रष्ट पारेका छन् । उनी भन्छन्–“सक्छौ भने ताला तोडेको प्रमाण देखाउ,‘होइन भने व्यक्तिगत चरित्र हत्या गर्ने कार्य कसैले पनि नगर्नु ।”