चन्द्रगढीलाई हराउँदै जलथलले उचाल्यो अध्यक्ष कप फुटबलको उपाधि
(केशव चापागाईँ) मदरगाछ । झापा गाउँपालिकामा आयोजित अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जलथल एफसीले उचालेको छ । दिपज्योती युवा क्लब झापा गाउँपालिका ७ मा आयोजित मङ्गलवार भएको फाइनल खेलमा जलथल फुटबल क्लबले ब्रदर्स युनाइटेड चन्द्रगढीलाई पराजित गर्दै उपाधि उचालेको हो ।
जलथलले चन्द्रगढीलाई २-१ को गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । जलथलका तर्फबाट खेलको १५ औं मिनेटमा योगेश गुरुङले गोल लगाए सँगै पुन: खेलको २५ औं मिनेटमा मौसम लिम्बुले १ गोल थपेका थिए। खेलको ६५ औं मिनेटमा चन्द्रगढीका विकास राईले एक गोल फर्काएका थिए । विजेता टिम जलथलले नगद १ लाख १ हजार १११ प्रमाणपत्र र मेडल पाएको छ ।
त्यसैगरी उपविजेता टिम चन्द्रगढीले नगद ५१ हजार १११, प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । आजका भएको फाइनल खेलको म्यान अफ दी म्याच जलथलका योगेश गुरुङ घोषित भए। त्यस्तै वेस्ट डिफेन्समा जलथलका सन्जित राई ,हाइ स्कोरमा सुनिल खड्का र वेस्ट प्लेयरमा मौसम लिम्बू घोषित भए।
त्यस्तै वेस्ट किपरमा चन्द्रगढीका आमस टुडु घोषित भए भने राइजिङ स्टार आयोजक टिमका नरेश मुर्मु घोषित भए। उनीहरूलाई नगद सहित पुरस्कृत गरिएको थियो । झापा गाउँपालिका अध्यक्ष कपमा प्रदेशका ८ वटा टिमले भाग लिएका थिए । समापन कार्यक्रम क्लबका अध्यक्ष डिल्लीराम चुडालको अध्यक्षता तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । तेज श्रेष्ठले स्वागत राखेको कार्यक्रममा कुमारमणि पोखरेल, नेत्रप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वासु दाहालले गरेका थिए ।