२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा मेयर कप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ३ विजयी 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
भद्रपुरमा मेयर कप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ३ विजयी 

भद्रपुर । झापाको भद्रपुरमा बिहबिारदेखि प्रथम मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी हाम्रो उत्पादन’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा शुरु भएको प्रतियोगिताको १ नं प्रदेश सांसद वसन्त बानियाँले एक समारोहका बिच उद्घाटन गरे । समारोहका प्रमुख अतिथि सांसद बानियाँले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका हुन् ।
चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र वडा नं ३ बिच भएको छ । उक्त खेलमा वडा नं ३ ले वडा नं १ लाई २–१ गोल अन्तरले पराजित गर्‍यो । वडा नं ३ को तर्फबाट जर्सी नं १५ का सुशील मगरले २ गोल गरे भने १ नं वडाका जर्सी नं २ का राजेश निरौलाले १ गोल फर्काए । शुक्रवार वडा नं ९ र वडा नं ८ बिच प्रतिस्पर्धा हुनेछ । 
प्रतियोगितामा झापा जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको छ ।    
प्रतियोगिताको विजेता टिमलाई ३० हजार र उपविजेता टिमलाई २० हजार नगद पुरस्कारसहित शील्ड तथा मेडल प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक श्याम राउतले जानकारी दिए ।
सङ्घीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता गरेको र यसबाट फुटबलका उत्कृष्ट प्रतिभा छनोट गरी नगर स्तरीय टिम तयार गरिने नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । 

सम्बन्धित समाचार