२०८२ माघ ५ गते , सोमबार

दशकौंदेखि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय, बनेन एउटा पुल, भारतीय बाटोकै भर

झापाको पिण्डलबारी गाउँको पीडा

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३२ गते , सोमबार
दशकौंदेखि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय, बनेन एउटा पुल, भारतीय बाटोकै भर

(पार्थ मण्डल) झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीका स्थानीयवासीले हरेक बर्खायाममा सास्ती झेल्नु परेको छ। भारतीय सीमावर्ती नाकासँग जोडिएको पिन्डलबारीवासीको पीडादायी समस्याबारे दशकौं बित्दा समेत कुनै पनि दल नेतृत्वको सरकारले सम्बोधन नगरेको उनीहरू बताउँछन्।

झापा जिल्लाकै विकट गाउँ भनेर परिचित पिन्डलबारीलाई पश्चिम र दक्षिणतर्फ भारतीय सिमाना र पूर्वपट्टि बिरिङ खोलाले घेरेको छ। डुबानको समेत उच्च जोखिममा रहेका गाउँवासी बर्खाको बेला सामान्य औषधि उपचार, सरकारी सेवा वा अन्य काम विशेषले गाउँबाट बाहिर जानु परे भने बिरिङ खोलाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। 

‘न त गाउँमा सुविधा सम्पन्न कुनै बाटोघाटो छ, न त पक्की पुल नै छ,’ स्थानीय भार्दुलाल राजवंशीले भने, ‘गाउँवासी बर्खा याममा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।’ निर्वाचनको बेला मात्र नेताहरु भोट माग्न पिन्डलबारी जाने गरेको राजवंशीको गुनासो छ। बर्खा याम सुरु भएपछि कोही पनि नेता समस्या बुझ्न गाउँ पुग्दैनन्। ‘बर्खा याम सुरु भएपछि तीन महिना गाउँवासीलाई धेरै समस्या भोग्नु पर्ने हुन्छ,’ उनले भने, ‘कतै जानु परे भारतीय बाटो भएर वा खोला तर्न स्थानीयले प्लाष्टिको ठूलो ड्रम र बाँसले बनाएको डुङ्गा चढेर जानुपर्ने हुन्छ।’

अहिले कोरोना कारण सीमा नाकामा पनि भारतीय एसएसबीले कडाइ गर्दा गाउँले थप समस्यामा परेको बताउँदै राजवंशीले भने, ‘एसएसबीले भारत प्रवेश गर्न नदिँदा र खोलामा पानीको बहाव बढेपछि गाउँवासी घरै थुन्नुपर्ने हुन्छ, त्यही बेला गाउँमा कोही बिरामी परे अकालै मर्नुपर्छ।’

सडक तथा पुलको विकल्प नहुँदा बर्खामा जोखिम मोलेर अस्थायी डुङ्गा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालन गर्दै आएका मोहन मण्डलले बताए। १२ वटा ड्रमको अस्थायी डुङ्गा बनाएर दुःख–सुख जसरी भए पनि गाउँवासीलाई तारिरहेको बताउँदै मण्डलले भने, ‘सबैभन्दा विकट ठाउँ भनेकै पिन्डलबारी हो। झोलुङ्गे पुल बनाउने कुरा पनि पटक पटक उठ्यो, तर अहिलेसम्म कुनै सुरसार छैन।’ आदिवासी समुदायका बाहुल्यता रहेको पिन्डलबारीमा १४७ घरधुरी रहेका छन्।

बाह्रदशी गाउँपालिकासँग सीमा जोडिएको पिन्डलबारी गाउँसहित दक्षिणी भूभागका गाउँहरूमा बर्खा याममा खोलाले जमिन कटानसँगै डुबान पार्दा स्थानीयले सास्ती झेल्नु परेको बाह्रदशी गाउँपालिका–१ का वडा अध्यक्ष शम्भुसिंह राजवंशीले बताए। मानिस बिरामी हुँदा सामान्य सिटामोल किन्न समेत जोखिम र सास्ती खेपेर जानु परेको उनको भनाइ छ।

यता कचनकवल १ नम्बर वडा अध्यक्ष लक्ष्मीनारायण यादवले पिन्डलबारीबासीको बर्खा यामको समस्या समाधान हुन नसकेको स्वीकारे। पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पिन्डलबारी जाने बिरिङ खोलामा २०७२ सालमा झोलुङ्गे पुलको शिलान्यास गरेका थिए। उनको पालामा त्यो झोलुङ्गे पुल बनेन। त्यसपछि राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्देनले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि फेरि झोलुङ्गे पुल बनाउने योजना अघि सारे। सङ्घीय सरकारले पुलको ठेक्का समेत लगाइसकेको छ।


पुलको ठेक्का लागेपछि २०७७ साल फागुनमा प्रतिनिधिसभा सदस्य लिङ्देन, स्थानीय जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनीसहितको टोलीले पुल बनाउने ठाउँको पहिचान गरेका थिए। सिटौलाले शिलान्यास गरेको ठाउँभन्दा अलि पर सोरेर पुल बनाउने पोन्इटको पहिचान गरिएको वडा अध्यक्ष यादवले बताए। ‘पुलको ठेक्का लागिसकेको छ, कोरोनाको कारण केही ढिलाइ भएको हो, पुल बनेपछि गाउँवासीको समस्या समाधान हुन्छ,’ उनले भने ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागको स्थानीय पुल शाखाले सो खोलमा झोलुङ्गे पुलको ठेक्का लगाइसकेको शाखाका इन्जिनियर दिनबिनोद खड्काले बताए। उक्त पुलको ठेक्का बिएलटी निर्माण कम्पनीले लिएको हो। दुई वर्षभित्र पुल बनाउने सम्झौता गरेको निर्माण कम्पनीले बर्खा सकिएपछि काम सुरु गर्ने इन्जिनियर खडकाको भनाइ छ।

सम्बन्धित समाचार