मेचीनगरका विद्यालयमा अब शुद्ध खानेपानी
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधवार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको छ ।
इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल ९इपिसी० को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, धुलाबारी मावि धुलाबारी, बालसुबोधोनी मावि दुहागढी, शहिद दशरथचन्द मावि चारआली, कवि शिरोमणि मावि खुट्टेडाँगी र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीलाई वितरण गरिएको छ ।
फिल्टर प्लान्ट वितरण गर्दै नगरप्रमुख बुढाथोकीले पानी मानिसको अति आवश्यक तत्त्व भएकाले फिल्टर प्लान्ट सञ्चालन भएसँगै अब विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई शुद्ध पानी पिउन सहज हुने बताए । उनले अहिले पहिलो चरणमा नगरका ६ वटा विद्यालयमा शुद्ध खानेपानीको लागि फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै अन्य विद्यालयमा पनि यसले निरन्तरता पाउने बताए ।
आदर्श मावि परिसरमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारीलगायतले सम्बन्धी विद्यालयका प्रअ तथा व्यवस्थापन समिति अध्यक्षलाई फिल्टर वितरण गरेका हुन् ।
यसअघि नगरको विभिन्न वडामा इपिसीले सुधारिएको चुलो वितरण गरिएको बताउँदै झापा प्रतिनिधि अमर मेचेले अहिले विद्यालयमा शुद्ध खानेपानीको लागि फिल्टर प्लान्ट उपलब्ध गराइएको बताए ।
कार्यक्रममा आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्का, पूर्व अध्यक्ष अर्जुन पोख्रेल, अभिभावक संघ अध्यक्ष भोला तिम्सिना र प्रअ कृष्ण पुरी, धुलाबारी माविका प्रअ महेन्द्र विलास लुइँटेल, बालसुबोधोनी मावि व्यवस्थापन समिति अध्यक्ष शंकरलाल राजवंशी, प्रअ विश्व थापा, शहिद दशरथ चन्द मावि व्यवस्थापन समिति अध्यक्ष केदार बुढाथोकी, प्रअ लेखनाथ पौडेल, इष्ट होराइजन अंग्रेजी माविका संयोजक तुलसी घिमिरेलगायतको सहभागिता रहेको थियो ।