२०८३ बैशाख २६ गते , शनिबार

बैङ्गलोरले लखनउलाई हरायो, पञ्जाबसँग पहिलो क्वालिफायर खेल्ने

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १४ गते , बुधबार
बैङ्गलोरले लखनउलाई हरायो, पञ्जाबसँग पहिलो क्वालिफायर खेल्ने

इन्डियन प्रिमियर लिग (आइपीएल)को लिग चरण खेल सकिएका छन्। रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) ले लखनउ सुपर जायन्ट्सलाई लिग चरणको अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा स्थान बनाएको हो। 

आरसीबीले पहिलो क्वालिफायरमा पन्जाब किङ्गसँग भिड्नेछ। लखनउस्थित भरत रत्नश्री अटल बिहारी भाजपाए एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २२७ रन बनाएको थियो। 

लखनउले दिएको २२८ रनको विजयी लक्ष्य पछाएको आरसीबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २३० रनसहित लक्ष्य पूरा गर्यो। 

आरसीबीका लागि कप्तान जितेश शर्माले सर्वाधिक ८५ रनको उत्कृष्ट पारी खेले। उनले ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे। ओपनरद्वय फिल साल्ट र विराटको कोहलीले क्रमश: ३० र ५४ रन बनाए। रजत पार्टीदार १४ रनमा क्याचआउट हुँदा मयंक अग्रवाल ४१ रनमा अभिजित रहे। मयङ्कले पाँचौं विकेटका लागि कप्तान जितेशसँग १०७ रनको अविजित साझेदारी गर्दै आरसीबीलाई पहिलो क्वालिफायरमा पुर्‍याएका हुन्। 

लखनउको लागि बलिङतर्फ विल ओ' रोकेले दुई विकेट लिए । आकाश सिंह र आवेश खानले १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। 

लखनउको लागि कप्तान ऋषभ पन्तले ११८ रनको अविजित पारी खेले। पुरै सिजन नचलेको उनको ब्याट अन्तिम खेलमा आएर चल्यो। उनले ६१ बलमा ११ चौका र ८ छक्का प्रहार गरे। ओपनरद्वय मिचेल मार्स र म्याथु ब्रिजकेले क्रमश: ६७ र १४ रन बनाए। निकोलसपुरन १३ रनमा क्याचआउट हुँदा अब्दुल सामद एक रनमा अविजित रहे। 

आरसीबीका लागि बलिङतर्फ नोवान तुसारा, भुवनेश्वर कुमार र रोमियो सेफर्डले समान १-१ विकेट लिए। लिग चरणको खेल सकिएसँगै अब आइपीएल सिजन २०२५ को प्लेअफका खेलहरू सुरु हुनेछन्। 

शीर्षस्थानमा रहेको पन्जाबले दोस्रो स्थानमा रहेको आरसीबीसँग पहिलो क्वालिफायर बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो स्थानमा रहेको गुजरात टाइटन्सले चौथो स्थानमा रहेको मुम्बई इन्डियनसँग एलिमिनेटरको खेल खेल्नेछ। एलिमिनेटरको खेल शुक्रबार हुनेछ। 

एलिमिनेटरबाट विजयी टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नेछ। आइपीएल २०२५ को दोस्रो क्वालिफायर जुन १ मा र फाइनल खेल जुन ३ मा हुनेछ।

सम्बन्धित समाचार