नेपाल र बंगलादेशबीच टी-२० सिरिज हुने
नेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ।
क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ।
क्यानका सचिव खड्काले नेपाल र बंगलादेशबीचको क्रिकेट शृंखला हालैको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने बताए।
शृंखलाले क्रिकेटभन्दा बाहिर नेपाल र बंगलादेशबीचको एकता, करुणा र मित्रताको सन्देशसमेत दिने उनको भनाइ छ। ‘नेपाल क्रिकेटको घरेलु मैदानमा राइनोजविरुद्ध टाइगर्स’ भन्दै उनले यो शृंखला नेपाली क्रिकेटका भावुक समर्थकहरूका लागि समर्पित हुने उल्लेख गरेका छन्।
नेपाल र बंगलादेशबीच जनस्तरमा बलियो सम्बन्ध तथा क्रिकेटप्रतिको साझा प्रेम रहेको उल्लेख गर्दै खड्काले शृंखलाले दुई छिमेकी राष्ट्रबीचको मित्रता, स्मरण र ऐक्यबद्धताको प्रतीकका रूपमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।