अस्ट्रेलियामाथि भारतको ऐतिहासिक जित, महिला विश्वकप फाइनलमा दक्षिण अफ्रिकासँग भिड्ने
जेमिमा रोड्रिग्सको नटआउट शतकको बलमा भारत अस्ट्रेलियामाथि पाँच विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाकी ओपनर फोबी लिचफिल्डको शानदार शतकीय पारीपछि भारतलाई जितका लागि ३३९ रनको विशाल लक्ष्य दिइएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा भारतका रोड्रिग्स र कप्तान हरमनप्रीत कौरले तेस्रो विकेटका लागि १६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे ।
हरमनप्रीत ८९ रनमा आउट भएपछि पनि रोड्रिग्सले पारीलाई सम्हालिन् । उनले ११५ बलमा शतक पूरा गर्दै अन्त्यसम्म नटआउट १२७ रन बनाइन् । भारतले ९ बल बाँकी रहँदा लक्ष्य भेट्याउँदै महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पूरा गर्यो ।
कौरले विजयी रन प्रहार गरेपछि घरेलु दर्शकबीच भारतीय टोली मैदानमा दौडिँदै प्रवेश गर्दा रोड्रिग्स आँसुमा ओथारिएकी देखिइन् । यस जितसँगै भारतले आइतबार दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त खेल्नेछ ।