भद्रपुरका हरि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले झापा भद्रपुर निवासी खड्कालाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन्।
खड्कालाई आगामी एएफसी एसियन कप २०२७ छनोट प्रतियोगिताका लागि प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ। यसअघिका मुख्य प्रशिक्षक म्याट रसले केही दिनअघि राजीनामा दिएका थिए।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। आज बसेको संघको कार्यसमितिको आपत्कालीन भिडियो कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बन गरेको हो।
खड्कामाथि विधानविरुद्धको गतिविधि गर्दै संघको विरुद्धमा गम्भीर अनुशासन उल्लघंन गरेको तथा मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने काम गरेको आरोप छ।
विधानको धारा ३८ को १४ बमोजिम खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गरिएको एन्फाले जनाएको छ।