गौतम बुद्ध प्राविको वार्षिक उत्सवमा उत्कृष्ट विद्यार्थी सम्मानित
भद्रपुर । भद्रपुरस्थित गौतम बुद्ध प्राविको ६१ औं वार्षिक उत्सव, अभिभावक दिवसका साथै बिदाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आरती पन्तको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, वडा नं ५ का अध्यक्ष बन्धु कार्की र नगर शिक्षा प्रमुख पवित्रा ढकालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षागत प्रथम हुने ६ विद्यार्थीलाई प्रधानाध्यापक शोभा गुरुङले एक–एक थान कम्बल वितरण गरेकी थिइन् ।
यसैगरी कार्यक्रममा विद्यार्थीलाई सफा बनाएर नियमित विद्यालय पठाउने आमा सुहागी मण्डल र कक्षा ५ र विद्यालय प्रथम हुने एक सहित ३ जनालाई रु १५०० दरको शुभलक्ष्मी स्मृति पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गरिब तथा जेहेन्दार २ जना विद्यार्थीलाई जनही ११ सय रुपैयाँको प्रेम आरती पन्त पुरस्कार, बालविकास देखि कक्षा ५ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई ९ सय, ६ सय र ४ सय दरको समाजसेवी दिनबन्धु गोयलले स्थापना गरेको ओमप्रकाश गोयल स्मृति पुरस्कार, गरिब तथा जेहेन्दार २ जना विद्यार्थीलाई जनही ११ सय रुपैयाँको निवर्तमान प्रधानाध्यापक जयन्ती मानीले स्थापना गरेको विजन शान्ति स्मृति पुरस्कार, विद्यालय प्रथम हुने एक जना विद्यार्थीलाई रु एक हजार ५ रुपैयाँको पूर्व शिक्षक अर्चना दाहालले स्थापना गरेको जनार्दन अर्चना दाहाल पुरस्कार समेत वितरण गरिएको थियो ।
साथै सो अवसरमा सेवा निवृत्त शिक्षक अर्चना दाहाल र ऋतिका बढईलाई ससम्मान बिदाइ पनि गरिएको सो विद्यालयले जनाएको छ । विद्यार्थी शिवांगी साहले स्वागत, शिक्षिका टिका घिमिरेले सञ्चालन गरेकी कार्यक्रममा प्रधानाध्यापक गुरुङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।