भद्रपुर माविका १६८ जना विद्यार्थीलाई पोसाक वितरण
भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच पोसाक वितरण गरिएको छ । एनआईएमबी बैंक भद्रपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रपुर–५ स्थित भद्रपुर माविमा अध्ययनरत कक्षा ६, ७, ८ र ११ का १६८ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान लिम्बुको अध्यक्षता तथा भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा एनआईएमबी बैंक भद्रपुर शाखा प्रमुख राहुल चक्रवर्ती, वडा सदस्य जेष्ठमल ठाकुर, विद्यालयका प्रधानाध्यापक होमनाथ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्ने बताए। त्यस्तै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लिम्बुले एनआईएमबी बैंक भद्रपुर शाखालाई सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।