२०८२ चैत्र ३० गते , सोमबार

बिर्तामोडका तीन उत्कृष्ट शिक्षक ५० हजारसहित पुरस्कृत, विद्यार्थीलाई प्रोत्साहन

sajilo news
झापा
२०८२ चैत्र २७ गते , शुक्रबार
बिर्तामोडका तीन उत्कृष्ट शिक्षक ५० हजारसहित पुरस्कृत, विद्यार्थीलाई प्रोत्साहन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरभित्रका शिक्षकहरूमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । 

शुक्रवार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शिक्षकहरूमा प्रावि तह तर्फ जनता आधारभूत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाईँ रहेका छन् । 

बिर्तामोड नगरपालिकाले तीन वर्षदेखि शिक्षक, विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ ।  यस्तै, १९ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित प्रोत्साहन गरिएको छ । ०८१ सालको आधारभूत शिक्षा परीक्षा कक्षा ८ मा ४ जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई नगद ५ हजार, प्रमाणपत्रसहित प्रोत्साहन गरिएको हो । उत्कृष्ट विद्यार्थीहरूमा एमिटी माविकी अर्पिता अधिकारी, लालिगुँरास इङ्लिस स्कुलकी आर्जूँ कार्की, लिटल फ्लावर्स अङ्ग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरू दृष्टि मित्तल, निश्चल शाह, प्रजिशा पोखरेल, प्रत्युस प्रसाईँ, वैभव शर्मा, वेदाशं शर्मा रहेका छन् । यस्तै, महेन्द्ररत्न माविका पुजता सुवेदी, मोहनमाया माविका आदित्य अर्याल, आयुशा निरौला, अजयबाबु श्रेष्ठ, अंकुश प्रधान, सलिना बाँस्कोटा, प्रतीक्षा ढकाल रहेका छन् । यसैगरी नवोदय फनमिन इङ्लिस स्कुलका समीर कुमार यादव, न्यूटन्स एजुकेसन एकाडेमीका कमल कुमार अधिकारी, निदी माविकी युनिशा राजवंशी र तक्षशिला प्रोग्रेसिभमा अध्ययनरत जेशिका श्रेष्ठलाई उत्कृष्ट विद्यार्थी प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । 

सो कार्यक्रममा एसइईमा उत्कृष्ट मोहनमायाकी विद्यार्थी केन्सिका गणेशलाई समेत पुरस्कृत गरिएको थियो । उनी यसअघिको कार्यक्रममा छुटेकी थिइन् ।  सोही कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मानसहित बिदाइ गरिएको छ । महेन्द्ररत्न माविबाट निवृत्त शान्ता चुँडाल, मोहनमाया माविबाट वेदमाया खनाल, अम्बिका देवी दाहाल, राघव गड्तौला, वीर अमरसिंहबाट यदुनाथ अधिकारी, चमरधाप प्राविबाट देवी प्रसाद पोखरेल, पञ्चरत्न माविबाट यमनाथ प्रसाईँ, दुर्गा माविबाट जनार्दन मिश्र र देवी माविबाट निवृत्त अग्नि बहादुर दाहाल, यज्ञप्रताप अधिकारी र पद्मा पाण्डेलाई सम्मानसहित बिदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईँले स्थानीय सरकार शिक्षा क्षेत्रमा व्यापक परिवर्तन ल्याउन प्रोत्साहन कार्यक्रम ल्याइएको बताइन् । उनले शिक्षक, विद्यार्थीहरूकै योगदानबाट शिक्षामा सुधार ल्याउन सकिने धारणा व्यक्त गरिन् । शिक्षा क्षेत्रमा सुधार ल्याउन योगदान गर्ने शिक्षक र मेहनत गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिदैं जाने बताइन् । उनले स्थानीय सरकारको नेतृत्वमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेपछि धेरै परिवर्तन आएको प्रतिक्रिया दिइन्। 

उत्कृष्ट शिक्षक छनौट समितिका संयोजक युवराज पाण्डे, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कडेंल, प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेल, महेन्द्र रत्न माविका प्रअ खड्गप्रसाद खरेल र निवृत्त शिक्षकका तर्फबाट यदुनाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । अधिकांशले बिर्तामोड नगरपालिकाले शिक्षक विद्यार्थीहरूलाई प्रोत्साहन गरेर शिक्षामा सकारात्मक सुधारका लागि महत्त्वपूर्ण योगदान गरिरहेको बताए । 

शिक्षा शाखाका उपसचिव तिलचन भण्डारीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा शिक्षक, विद्यार्थी र शैक्षिक सरोकारवालाहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष शिक्षा दिवसका दिन आयोजना गरिने उक्त कार्यक्रम जेनजी आन्दोलनका कारण प्रभावित भएपछि सारिएको थियो ।

सम्बन्धित समाचार