विराट गोल्डकपमा झापाको विजयी सुरुवात
झापा–११ ले ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। विराटनगरको सहिद रंगशालामा शनिबार राति सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि हाबी हुँदै झापा सेमिफाइनलमा प्रवेश गरेको हो।
फ्लड लाइटको उज्यालोसँगै सुरु भएको फुटबलको महाकुम्भ ‘विराट गोल्डकप’को ३८ औँ संस्करणको उद्घाटन खेलमा झापाले आर्मीको चुनौती २–१ गोल अन्तरले पन्छायो। झापाको जितमा स्ट्राइकर फागुराम थारु नायक बने। प्रतिस्पर्धात्मक खेलको सुरुवातमै टिमलाई अग्रता दिलाएका उनैले दुवै गोल गरेका हुन्। खेलको १० औँ र ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै थारुले टिमलाई पछाडि फर्किन दिएनन्।
१० औँ मिनेटमा अनुप तामाङको सटिक क्रस पासलाई सदुपयोग गर्दै उनले टोलीलाई अगाडि बढाए। त्यस्तै, पहिलो हाफ सकिन ठीक १ मिनेटअघि राजेश दाहालको पासमा उनले व्यक्तिगत दोस्रो गोल गरे। उत्कृष्ट प्रदर्शनसँगै थारु प्लेयर अफ दी म्याच घोषित भएर नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
खेलको २३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गर्दै आर्मीलाई खेलमा फर्काए। तर, झापाको रक्षापंक्ति र गोलरक्षकको अगाडि आर्मीका प्रहारहरू सफल हुन सकेनन्। खेलको ७६ औँ मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंग कार्कीको प्रहारलाई झापाका डिफेन्डर योगेश गुरुङले गोल लाइनबाट क्लियर गरेर टिमको संकट टारेका थिए। त्यस्तै, आर्मीका भरत खवास र गौरव महर्जनका केही प्रयासहरू सफल भएनन्।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका हुन्। शनिबारको खेलले २०७१ सालको विराट गोल्डकप फाइनलको सम्झना ताजा गरायो। ११ वर्षपछि सहिद मैदानमै आमनेसामने भएका झापा–११ र आर्मीबीचको भिडन्त निकै रोचक एवं प्रतस्पिर्धात्मक बनेको थियो। २०७१ सालको उपाधि होडमा पनि झापा–११ सँग आर्मी स्तब्ध बनेको थियो। शनिबारको नतिजाले पुरानो विरासतलाई जोगाउँदै झापाले आर्मीलाई प्रतियोगिताबाटै बाहिर पठाएको छ।
प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए।