“टुर डे भद्रपुर २०२६” साइकल राइड बैशाख १८ मा
भद्रपुर । पर्यटन प्रवर्द्धन तथा विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले “टुर डे भद्रपुर २०२६” नामक विशेष साइकल राइड कार्यक्रम आयोजना हुने भएको छ ।
भद्रपुर साइकल सोसाइटी र भद्रपुर ५ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमको प्रायोजक भद्रपुर नगरपालिका र सह–प्रायोजक ओमसाई पाथीभरा हस्पिटल रहेका छन् । बैशाख १८ अर्थात् आगामी मे १ तारिखका दिन आयोजना हुने उक्त राइडले भद्रपुर, कचनकवल र हल्दीबारीका प्रमुख सम्पदा स्थल, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गराउने भद्रपुर साइकल सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त राइडको प्रमुख उद्देश्य नै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै शान्ति र सद्भावको सन्देश फैलाउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा नेपाल, भारत र भुटानका विभिन्न शहरबाट करिब ३०० जना साइकल यात्रीहरूको सहभागिता रहने अनुमान गरिएको छ । अहिले सहभागिताका आवेदन खुला गरिएको उनको भनाई छ । करिब ७४ किलोमिटर दूरी तय गर्ने उक्त राइड भद्रपुर नगरपालिका कार्यालयबाट सुरु भई भद्रपुर–८ स्थित होटेल डेग्लो इनमा पुगेर समापन हुनेछ ।