२०८३ बैशाख २९ गते , मंगलबार

अनिल प्रधानको प्रेरणादायी प्रविधि यात्रा

sajilo news
पार्थ मण्डल
२०८३ बैशाख २९ गते , मंगलबार
अनिल प्रधानको प्रेरणादायी प्रविधि यात्रा

झापा । २०८० साल मंसिर पहिलो साता २७ वटा जंगली हात्तीको बथान मोरङको बेलबारी क्षेत्रमा पसेर आतंक मच्चाइरहेको थियो। एक महिनासम्म स्थानीय र प्रशासनले हात्ती धपाउन अनेकौं प्रयास गरे पनि ती सबै निष्प्रभावी बने। अन्ततः बेलबारी नगरपालिकाले ललितपुरस्थित ‘जीबीएस टिम/नेसनल रोबोटिक्स एन्ड रिसर्च सेन्टर’मा कार्यरत अनिल प्रधानसँग सम्पर्क गर्‍यो।

अनिलको नेतृत्वमा रहेको जीबीएस टिम बेलबारी पुग्यो र रातको समयमा ड्रोनको प्रयोग गरी हात्ती धपाउन सुरु गर्‍यो। जंगली हात्तीहरू मौरीको आवाजसँग निकै डराउने तथ्यलाई आत्मसात् गर्दै उनले ड्रोनमा मौरीको भुनभुनजस्तै आवाज निकाल्ने प्रविधि जडान गरेका थिए। उक्त आवाजबाट त्रसित भएर हात्तीहरू जंगलतर्फ फर्किए। हात्ती धपाउने विशेष ‘साइरन ड्रोन’ आविष्कार गरेकै कारण अनिल एकाएक राष्ट्रिय सञ्चारमाध्यमहरूको चर्चाको केन्द्रमा आए।

तर, यो सफलताको शिखरसम्म आइपुग्न अनिलले गरेको संघर्ष र उनको सपनाको कथा निकै रोचक छ। झापा जिल्लाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर निवासी २६ वर्षीय अनिल बाल्यकालदेखि नै प्रविधिसँग खेल्दै र रमाउँदै हुर्किएका हुन्।

आफ्नो बाल्यकाल सम्झिँदै अनिल भन्छन्, ‘म सानैदेखि अलि फरक स्वभावको थिएँ। बुवाआमाले खेल्न ल्याइदिने नयाँ–नयाँ विद्युतीय सामानहरू खोल्ने र बिगार्ने मेरो बानी थियो। त्यसका लागि अभिभावकबाट धेरै पटक गाली पनि खाएँ, तर मैले आफ्नो कौतुहलता मार्न सकिनँ।’ ती पुराना विद्युतीय सामानका पाटपुर्जाहरू प्रयोग गरेर उनी नयाँ वस्तु बनाउने प्रयास गर्थे। त्यही क्रममा उनले एलईडी बल्बका भागहरू प्रयोग गरेर आफ्नै सानो बत्तीसमेत बनाएका थिए। पढाइसँगै प्रविधिमा उनको रुचि बढ्दै गए पनि उचित ज्ञान र स्रोतको भने सधैं अभाव खट्किरह्यो।

अनिल विगतका चुनौतीहरू सम्झिँदै भन्छन्, ‘त्यतिबेला हाम्रो गाउँमा इन्टरनेटको सुविधा थिएन, जसले गर्दा प्रविधिसम्बन्धी सीप सिक्न निकै कठिन थियो। तर पनि मैले खेलकुद, चित्रकला र अन्य सिर्जनात्मक कार्यमा आफूलाई सक्रिय राखें र अन्ततः विज्ञान तथा प्रविधिमै केन्द्रित हुने निर्णय लिएँ।’
गाउँमा इन्टरनेट पुर्‍याउनुपर्छ भन्ने दृढ इच्छा जागेपछि त्यसका लागि आवश्यक रकम जुटाउन उनले कपडामा चित्र बनाएर बेच्न थाले। त्यसरी जम्मा गरेको करिब चार हजार रुपैयाँबाट उनले इन्टरनेट जोड्ने प्रयास सुरु गरे। सेवा प्रदायक कम्पनीले कम्तीमा १० जना प्रयोगकर्ता चाहिने सर्त राखेपछि उनले गाउँलेहरूलाई सम्झाएर मनाए। अन्ततः गाउँमा पहिलो पटक इन्टरनेट भित्रियो। ‘काम गर्ने इच्छाशक्ति भए जे पनि सम्भव हुने रहेछ भन्ने पाठ मैले त्यहीँबाट सिकेँ र मलाई अघि बढ्न हौसला मिल्यो,’ उनी गौरवका साथ भन्छन्।

बुवाले किनिदिएको ल्यापटप र गाउँमा जोडिएको इन्टरनेट नै उनको सिकाइको पाठशाला बन्यो। इन्टरनेटमार्फत नयाँ आविष्कारका कुरा सिक्दै उनले विभिन्न प्रोजेक्टहरू निर्माण गर्न थाले। सोही क्रममा उनको भेट सुरज मगरसँग भयो, जसले अनिलका कार्यहरूको भिडियो बनाएर प्रचारप्रसारमा ठूलो 
सहयोग गरे।

विभिन्न विज्ञान प्रदर्शनी र प्रतियोगिताहरूमा सहभागी हुँदै जाँदा उनमा कोडिङ र रोबोटिक्सप्रति अझ गहिरो लगाव बढ्यो। एक पटक बाल्यकालमा पढेको विद्यालयमा रोबोटिक्स प्रोजेक्ट देखाउन जाँदा, अध्ययनका लागि मागिएको एउटा सामान्य सामग्रीको अनुमति नपाएपछि उनले आफूलाई अझ निखार्ने अठोट गरे। त्यसपछि आफ्नै बचतबाट भारत पुगेर आवश्यक इलेक्ट्रोनिक सामग्री खरिद गरी उनले अभ्यास सुरु गरे। सुरुमा केही असफलता व्यहोरे पनि निरन्तरको प्रयासले उनी पहिलेभन्दा उत्कृष्ट प्रोजेक्ट बनाउन सफल भए, जसले उनको आत्मविश्वासलाई नयाँ उचाइ दियो।

अनिलको सानैदेखिको सपना ड्रोन बनाउने थियो। एक पटक विद्यार्थीलाई ड्रोन बनाउन सिकाउनुपर्ने जिम्मेवारी आएपछि उनले आवश्यक पाटपुर्जाहरू मगाए र एक रातको गहन अध्ययन र मेहनतपछि सफलतापूर्वक ड्रोन उडाए। थप अनुसन्धान गर्दै जाँदा उनले मौरीको आवाजले हात्तीलाई भगाउन सकिने तथ्य पत्ता लगाए।

यही वैज्ञानिक तथ्यका आधारमा उनले ‘साइरन ड्रोन’ बनाउने योजना बुने। आर्थिक समस्याका बाबजुद उनले भद्रपुर नगरपालिकामा आफ्नो योजना प्रस्तुत गरे। नगरपालिकाको सहयोगमा उनले अनुसन्धानमूलक ड्रोन तयार पारे र जंगली हात्तीमाथि यसको सफल परीक्षण गरे। उनको यो असाधारण क्षमताको कदर गर्दै नगरपालिकाले उनलाई ‘युवा प्रतिभा’ का रूपमा सम्मानित समेत गर्‍यो।

आफ्नो ज्ञानलाई थप परिष्कृत गर्न विभिन्न अनलाइन माध्यमहरूबाट सिकाइ जारी राखेका अनिलले काठमाडौंमा काम गर्ने क्रममा गणेशविक्रम सिंह आले र यज्ञप्रसाद देवकोटाद्वारा स्थापित ‘जीबीएस टिम’ सँग जोडिने अवसर पाए। उनी भन्छन्, ‘उहाँहरू मेरो लागि प्रेरणाको स्रोत बन्नुभयो।’
यस टिमसँग मिलेर उनले नेपाली सेना र नेपाल प्रहरीका विभिन्न महŒवपूर्ण प्रोजेक्टहरूमा काम गरिसकेका छन्। जलविद्युत् क्षेत्रमा ड्रोनमार्फत तार तान्ने र मोरङमा हात्ती धपाउने कार्यले उनलाई थप स्थापित बनायो। हाल उनले ड्रोनसम्बन्धी व्यावसायिक सेवा प्रदान गर्ने कम्पनीसमेत सञ्चालन गरिरहेका छन्।

हालसम्म अनिलले दृष्टिविहीनका लागि उपयोगी ‘थर्ड आई’ प्रोजेक्ट, चोरी नियन्त्रण गर्ने एन्टि–थेफ्ट प्रणाली, स्मार्ट पानस, वन्यजन्तु व्यवस्थापनका लागि साइरन ड्रोन, कृषि ड्रोन, जलविद्युत्को तार तान्ने ड्रोन, अग्नि नियन्त्रण तथा उद्धार ड्रोन, माछा फार्मका लागि स्मार्ट एग्रो बोट, निगरानी विमान (सर्भेलेन्स आरसी), अग्नि नियन्त्रक रोबोट र एन्टि–ड्रोन प्रणालीजस्ता दर्जनौँ अत्याधुनिक प्रविधिहरू निर्माण गरिसकेका छन्।

सम्बन्धित समाचार