भद्रपुरका चार वटा सामुदायिक विद्यालय गाभियो, २३ शिक्षकको दरबन्दी मिलान (सूचिसहित)
भद्रपुर । भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गरेको छ । नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि–२०८३ अनुसार नगरभित्रका चारवटा विद्यालयलाई समायोजन र २३ शिक्षक (बाल विकाससहित) को दरबन्दी मिलान गरेको नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रेम भुजेलले जानकारी दिए ।
नगरपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका चार वटा विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा समायोजन गरेको छ । भद्रपुर–१० स्थित कृष्ण प्राविलाई भद्रपुर–९ को पशुपतिनाथ आविमा समायोजन गरिएको छ । यस्तै भद्रपुर–१० कै भगवती प्राविलाई भद्रपुर–७ स्थित वीरेन्द्र माविमा गाभिएको छ । त्यसैगरी भद्रपुर–८ स्थित भानु प्राविलाई पृथ्वी आवि भद्रपुर–८ मा र भद्रपुर–५ को पशुपति प्राविलाई भद्रपुर माविमा गाभिएको शाखाले जनाएको छ । त्यस्तै शाखाको निर्णयअनुसार प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तथा बाल विकासतर्फ गरी कुल २३ दरबन्दी कटौती गर्दै २३ नै दरबन्दी अन्य विद्यालयमा थप गरिएको छ । प्राथमिक तहमा १३ दरबन्दी कटौती गरी १३ दरबन्दी थप गरिएको छ । निम्न माध्यमिक तहमा १ दरबन्दी कटौती तथा १ थप गरिएको छ भने माध्यमिक तहमा २ दरबन्दी कटौती गरी २ दरबन्दी थप गरिएको छ । यस्तै बाल विकासतर्फ १० दरबन्दी कटौती गरी १० दरबन्दी अन्य विद्यालयमा थप गरिएको छ ।
शाखाको निर्णयअनुसार हिमाली मावि भद्रपुर–१, आधारभूत विद्यालय भद्रपुर–१, मेची आवि भद्रपुर–३, जनकल्याण आवि भद्रपुर–४, शारदा आवि भद्रपुर–६, वीरेन्द्र मावि भद्रपुर–७, पृथ्वी आवि भद्रपुर–८, पशुपतिनाथ आवि भद्रपुर–९ र जीवनज्योति आवि भद्रपुर–९ मा दरबन्दी थप गरिएको छ ।
यस्तै अरनिको मावि भद्रपुर–३, चन्द्रभागुज्योति मावि भद्रपुर–३, भद्रपुर मावि भद्रपुर–५, भानु प्रावि भद्रपुर–८, पुहाँतु जनज्योति मावि भद्रपुर–९, कृष्ण प्रावि भद्रपुर–१० र भगवती प्रावि भद्रपुर–१० लगायत विद्यालयमा दरबन्दी कटौती गरिएको छ । बाल विकासतर्फ हिमाली मावि, दीपक प्रावि, सरस्वती मावि, सिचाई प्रावि, सगरमाथा मावि, सिंहदेवी प्रावि, अरनिको मावि, शारदा आवि र भानु प्राविमा दरबन्दी थप गरिएको छ भने पशुपति प्रावि, गौतम बुद्ध प्रावि, भृकुटी प्रावि, पृथ्वी आवि, पशुपतिनाथ आवि, जीवनज्योति आवि, कृष्ण प्रावि र भगवती प्राविमा कटौती गरिएको छ । नगरको शैक्षिक गुणस्तर सुधार, स्रोत–साधनको प्रभावकारी व्यवस्थापन गराउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए । भद्रपुर–८ स्थित भानु प्राविको भवनमा भानु अटिजम विद्यालय स्थापना गरिने उनको भनाई छ ।
नगर शिक्षा समितिको गत मंसीर २८ गतेको निर्णयबाट गठित विद्यालय समायोजन तथा दरबन्दी मिलान सुझाव कार्यदलको प्रतिवेदन र कार्यविधि अनुसार समायोजन र दरबन्दी मिलान गरिएको शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार भवन अभावका कारण भद्रपुर माविमा गाभिएको पशुपति प्रावि यो वर्ष त्यहीबाट सञ्चालन हुनेछ । भद्रपुर माविमा निर्माणाधीन भवन तयार भएपछि आगामी शैक्षिक सत्रमा पशुपतिसहित गौतमबुद्धलाई पनि त्यहीबाटै सञ्चालन गर्ने उनले बताए । त्यस्तै एउटा पनि मावि शिक्षक दरबन्दी नरहेको सगरमाथा माविमा एउटा दरबन्दी थप गरिएको छ, भने अङ्ग्रेजी माध्यमबाट सञ्चालित बाल विकासतर्फ एउटा÷एउटा दरबन्दी थप गरिएको उनको भनाई छ ।

