२०८३ असार ६ गते , शनिबार

ब्राजिलले हाइटीलाई ३–० गोलले हरायो

sajilo news
एजेन्सी
२०८३ असार ६ गते , शनिबार
ब्राजिलले हाइटीलाई ३–० गोलले हरायो

फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीलाई ३–० गोलले पराजित गर्दै ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा उक्लिएको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलको पहिलो हाफमा भएका गोलहरु नै निर्णायक रहे। दोस्रो हाफमा दुवै टिमले गोल निकाल्न सकेनन्। 

खेलको १३ औं मिनेटमा राफिन्हाले गरेको गोल अफसाइड भएको हो। खेलको २४ औं मिनेटमा म्याथ्यू कुन्हाले गोल गर्दै ब्राजिलको खाता खोल्न सुरु गरेका थिए। पहिलो प्रहार हाइटीका किपरले बचाए। तर त्यो बल क्लियर नहुँदा कुन्हाले त्यसलाई सफ्ट टच गर्दै फिनिस गरेका थिए। 

खेलको ३६ औं मिनेटमा पुन म्याथ्यू कुन्हाले दोस्रो गोल गरे। बायाँतर्फबाट भिनिसियस जुनियरले गरेको पासलाई उनले गोलमा परिणत गरेका हुन्। तेस्रो गोल भिनिसियस जुनियरको नाममा रह्यो। जुनियरले पहिलो हाफको ६ मिनेटको थप गरिएको समयको तेस्रो मिनेटमा उत्कृष्ट गोल गरे। 

खेलको दोस्रो हाफमा हाइटीले केही मौका बनायो। खेलको ६३ औं र ६५ औं मिनेटमा हाइटीले निकै राम्रो मौका बनाएको थियो। तर ब्राजिलको डिफेन्सको अगाडि फिनिस भने हुन सकेन। निर्धारित ९० मिनेटमा थप गरिएको पाँच मिनेटको चौथो मिनेटमा हाइटीले गरेको प्रहार ब्राजिलका गोलकिपरले बचाए। 

आज भएको समूह सी को खेलमा मोरक्कोले स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको थियो। यो जितसँगै ब्राजिल गोलअन्तरका कारण समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। यो जितले ब्राजिलको शीर्ष ३२ को सम्भावना पनि बलियो बनाएको छ।

सम्बन्धित समाचार