युगीन शर्माले भारतकी खुसीलाई हराउँदै नेपाललाई दिलाइन् अन्तर्राष्ट्रिय फाइटमा जित
नेपाली फाइट खेलाडी युगीन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग–९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय फाइटमा जित दिलाएकी छिन्।
नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा युगीनले आत्मविश्वास, साहस र दृढताका साथ उत्कृष्ट प्रदर्शन गर्दै खुसीमाथि जित हात पारेकी हुन्। विदेशी भूमिमा नेपालका लागि प्रतिस्पर्धा गर्दै हासिल गरेको यो सफलतालाई नेपाली खेलकुदका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
रेज फाइट टिमबाट प्रतिनिधित्व गर्दै रिङमा उत्रिएकी युगीनले के–१ किकबक्सिङ नियमअनुसार खेलाइएको भिडन्तमा तीनै राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै अंकका आधारमा जित दर्ता गरेकी थिइन्।
जितपछि उत्साहित युगीनले अब आफ्नो लक्ष्य कर्मा फाइट लिगको च्याम्पियनसिप बेल्ट रहेको बताइन्। ८८‘अब मलाई च्याम्पियनसिप बेल्ट चाहियो। म जस्तोसुकै चुनौतीका लागि तयार छु,’८८ उनले भनिन्।
मिक्स मार्सल आर्ट्स, किकबक्सिङ र बक्सिङमा प्रशिक्षण लिएकी युगीनले १७ वर्षको उमेरदेखि व्यावसायिक प्रशिक्षण सुरु गरेकी हुन्। नियमित अभ्यास, अनुशासन र कडा परिश्रमका कारण उनले छोटो समयमै दक्षिण एसियाली फाइट स्पोर्ट्समा आफूलाई सशक्त दाबेदारका रूपमा स्थापित गर्न सफल भएकी छिन्।
युगीनको यो जित नेपाली महिला फाइटरका लागि पनि महत्त्वपूर्ण उपलब्धि बनेको छ। कम्ब्याट स्पोर्ट्सजस्तो चुनौतीपूर्ण विधामा अन्तर्राष्ट्रियस्तरमा नेपाली महिलाले पनि सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छिन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै जित हासिल गर्न पाउनु गर्वको क्षण भएको युगीनले बताइन्। उनले आफ्नो यो जित प्रशिक्षक, रेज फाइट टिम र सम्पूर्ण नेपालीको भएको बताउँदै खेलकुदमा आउन चाहने नेपाली युवतीलाई अघि बढ्न आग्रह गरिन्।
युगीनको जितसँगै अन्तर्राष्ट्रिय फाइटको मञ्चमा नेपालको उपस्थिति थप बलियो बनेको छ। भारतकी खेलाडीलाई पराजित गर्दै नेपालका लागि सफलता हासिल गरेपछि उनलाई नेपाली खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई दिँदै आगामी प्रतिस्पर्धाका लागि शुभकामना दिएका छन्।