प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वागत
भद्रपुर । भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सुदृढ बनाउने उद्देश्यले नवआगमन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वागत सम्मान गरिएको छ। शुक्रबार अस्पतालको सभा हलमा आयोजित नियमित वार्ड इन्चार्ज तथा विभाग प्रमुखहरूको बैठकको अवसरमा नवआगमन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वागत सम्मान गरिएको हो ।
अस्पतालमा नयाँ जिम्मेवारी लिएर आएका बाल रोग विशेषज्ञ डा. एलिना पौडेल, अर्थोपेडिक सर्जन डा. नवीन भट्टराई, अर्थोपेडिक सर्जन डा. अंकित श्रेष्ठ, जनरल सर्जन डा. गुञ्जन कुमार साह, कन्सल्टेन्ट मेडिसिन डा. तोर्णराज कटुवाल, जनरल सर्जन डा. सुरज यादव, डर्माटोलोजिष्ट डा. मनीषा चापागाईँ, ईएनटी सर्जन डा. विदुर अधिकारी, नर्सिङ अधिकृत एलिना खरेल, नर्सिङ अधिकृत रेणुका राजवंशी, नर्सिङ अधिकृत मनी राई तथा पेडियाट्रिसियन डा. राधा चौधरीलाई स्वागत गरिएको छ । उनीहरूलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले स्वागत, सम्मान गरेका हुन् ।
उनले नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको आगमनसँगै अस्पतालको सेवा प्रवाहमा थप सुधार हुने अपेक्षा गरेका छन् । विशेषज्ञ जनशक्ति थपिएसँगै बिरामीलाई अस्पतालमै विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने उनको विश्वास छ। नवआगमन भएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरेका छन्।