भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल हुँदै, विजेताले १ लाख १ हजार पाउने
भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ हात्तीमारामा चौथो संस्करणको सन्थाल नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हात्तीमारा फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता यही असोज १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा झापा र मोरङका गरी आठ टोलीले सहभागिता जनाउने भएका छन् । आयोजक हात्तीमाराका ए र बी टोलीसँगै हल्दिबारी, बिर्तामोड, मेचीनगर, पन्थापारा, शनिश्चरे र मोरङको टोली प्रतियोगितामा सहभागी हुने हात्तीमारा फुटबल क्लबका अध्यक्ष मारङ मास्केले जानकारी दिए ।
भद्रपुर नगरपालिका–३ नम्बर वडा कार्यालयको सहयोगमा आयोजना हुने प्रतियोगिताका लागि यस वर्ष पुरस्कार राशि समेत बढाइएको छ । प्रतियोगिता सञ्चालनमा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड पाउनेछ । प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कारको रकम राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राईले प्रदान गर्ने भएका छन् । दोस्रो पुरस्कारको रकम कृष्ण खड्कासहित विभिन्न सहयोगीबाट उपलब्ध हुने जनाइएको छ । प्रतियोगिताका लागि वडा कार्यालयले ३ लाख २० हजार रुपैयाँ सहयोग गर्नेछ भने बाँकी रकम विभिन्न सहयोगी तथा दाताबाट संकलन गरिने आयोजकले जनाएको छ ।
मुख्य प्रतियोगितासँगै अन्डर–१५ र भेट्रानतर्फ पनि छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिने भएको छ । दुवै विधामा चार–चार टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई फुटबल खेलसँग मात्र सीमित नराखी सन्थाल समुदायको धर्म, संस्कृति र कलासँग समेत जोडिएको भद्रपुर–३ का वडाध्यक्ष हेमबहादुर कार्कीले बताए । स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै सन्थाल समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा समेत प्रतियोगिताले योगदान पुर्याउने उनको भनाइ छ ।
प्रतियोगितालाई सफल बनाउन हात्तीमारा फुटबल क्लबका अध्यक्ष मारङ मास्के, टिमका कप्तान बिमल मास्के, व्यवस्थापक सन्तोष गुरुङलगायत आयोजक टोली तयारीमा जुटेको छ ।