सीमावर्ती मेची नदी किनार छठमय, ड्रोनबाट सुरक्षा निगरानी
झापा । सीमावर्ती मेची नदी किनारसहित झापाका विभिन्न नदी तथा खोला किनारमा छठ पर्वको तयारी पूरा भएको छ। आज बेलुका अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठका लागि झापाका नदी किनारहरू बेहुलीझैं सिँगारिएका छन्।
छठ पर्वको अवसरमा मेची, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, मावा र कमललगायतका नदी तथा खोलाका किनारमा व्रतालुका लागि घाट निर्माण, सरसफाइ, विद्युत् बत्ती जडान, पण्डाल निर्माण तथा सजावटका काम सम्पन्न भएका छन्।
विशेषगरी भद्रपुरस्थित मेची नदी किनारमा छठ पर्वको रौनक भने छुट्टै छ। जिल्लाकै सबैभन्दा फराकिलो र लामो क्षेत्रफलमा छठ पर्व मनाइने मेची नदी किनार नेपाल र भारतका नागरिकको साझा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। यहाँ नदीको पूर्वी किनारमा भारतीय र पश्चिमी किनारमा नेपाली व्रतालुले एउटै नदीलाई संगमस्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आएका छन्। यही विशेषताका कारण भद्रपुरको मेची नदीमा मनाइने छठको छुट्टै पहिचान बनेको छ।
भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारको उत्तरतर्फ देवीबस्तीबाट मेची पुलको मुख्य प्रवेशद्वार हुँदै दक्षिणतर्फ मसानघाटसम्मको करिब दुई किलोमिटर क्षेत्रमा सयौं घाट निर्माण गरिएका छन्। पूजा स्थलमा पण्डाल, केराका बोट, विभिन्न प्रजातिका फूल, रंगीचंगी अबिर तथा झिलिमिली बत्तीले सजावट गर्ने काम गरिएको मैथिल समाज भद्रपुरका अध्यक्ष पारसनाथ यादवले जानकारी दिए।
मैथिल समाजका सदस्य तथा घाट व्यवस्थापन समितिका संयोजक विकासकुमार गुप्ताका अनुसार यसपटक मेची नदी किनारको व्यवस्थापनमा काँसघारी मुख्य चुनौती बनेको थियो। काँसघारी हटाउन एक सातासम्म जेसीभी प्रयोग गरेर नदी किनारसम्म पुग्ने चारवटा बाटो निर्माण गरिएको उनले बताए।
‘काँसघारी हटाएपछि मेची पुलमुनिको क्षेत्र पनि फराकिलो भएको छ। यसले व्रतालु तथा भक्तजनको आवागमन र भीड व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरेका छौं,’ उनले भने।
नदी किनारमा विद्युत् बत्ती जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क तथा सूर्य भगवानको मूर्ति स्थल निर्माणलगायतका काममा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक गुप्ताले बताए। नदी किनारलाई झिलिमिली बनाउन ४० स्थानमा लाइट टावरसहित सडक बत्ती जडान गरिएको छ।
त्यस्तै, देवीबस्ती क्षेत्रमा युनिक समूहले आफ्नै व्यवस्थापनमा पण्डालसहित दुई हजार घाट निर्माण गरेको छ। समूहका अध्यक्ष प्रकाश राजवंशीका अनुसार तिहारअघि नै घाट व्यवस्थापनको काम सुरु गरिएको थियो। समूहले १० फिटको एउटा घाटका लागि ८०० रुपैयाँसम्म शुल्क लिँदै आएको छ। आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारलाई भने आवश्यकताअनुसार निःशुल्क घाट उपलब्ध गराइने उनले बताए।
यसपटक नदीको धार परिवर्तन गरेर घाट निर्माण गर्नुपरेकाले जेसीभी प्रयोगमा धेरै रकम खर्च भएको राजवंशीको भनाइ छ। नदी किनारको क्षेत्र फराकिलो बनाइएको र घाटसम्म पुग्ने बाटो व्यवस्थित गरिएकाले विगतको तुलनामा भीड व्यवस्थापन सहज हुने उनको अपेक्षा छ।
युनिक समूहले विद्युत् बत्ती, पण्डाल, सूर्य मन्दिरको रंगरोगन, भजन सन्ध्या तथा पूजासहितका कार्यक्रमका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। छठ पर्वको मुख्य दिन भद्रपुर नगरपालिकाको सहयोगमा गंगा आरतीसमेत आयोजना गरिने उनको भनाई छ।
छठ साझा पर्वका रूपमा विस्तार हुँदै
विगतमा विशेषगरी मधेसी समुदायले मनाउँदै आएको छठ पर्व पछिल्लो समय साझा धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा विस्तार हुँदै गएको छ। मेची नदी किनारमा मधेसी समुदायसँगै पहाडी, मारवाडी, बंगाली, राजवंशीलगायत विभिन्न समुदायका मानिसले समेत श्रद्धापूर्वक छठ मनाउँदै आएका छन्।
नेपाल–भारत सीमामा अवस्थित मेची नदीमा छठ मनाउन दुवै देशका नागरिकको सहभागिता रहने भएकाले यहाँको पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सांस्कृतिक एकता र सीमापारिको आपसी सम्बन्धलाई समेत बलियो बनाउँदै आएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए।
मेची नदीमा छठको दृश्यावलोकन तथा पूजाआराधनामा सहभागी हुन भारतका सीमावर्ती क्षेत्रसहित नेपालका विभिन्न जिल्लाबाट समेत भक्तजन आउने गरेका छन्। यसपटक ५० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान आयोजक समितिहरूले गरेका छन्।
२५० सुरक्षाकर्मी परिचालन, ड्रोनबाट निगरानी
छठ पर्वमा हुन सक्ने भीडभाड तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मेची नदी किनारमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा स्वयंसेवक गरी करिब २ सय ५० जनशक्ति परिचालन गरिने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङले जानकारी दिए।
उनका अनुसार नदी किनारमा हुन सक्ने आपराधिक तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न विभिन्न स्थानमा प्रहरी बिट स्थापना गर्नुका साथै पैदल गस्ती र मोबाइल गस्ती परिचालन गरिनेछ। यसपटक प्रविधिको प्रयोग गर्दै ड्रोन क्यामेराबाट समेत निगरानी गरिने व्यवस्था मिलाइएको छ।
पूजा स्थलमा हुने अत्यधिक भीड, सवारी आवागमन तथा ट्राफिक व्यवस्थापन, पाकेटमारी र मदिराजन्य गतिविधि सुरक्षा व्यवस्थापनका मुख्य चुनौती रहेको प्रहरी निरीक्षक तामाङले बताए। सीमावर्ती क्षेत्र भएकाले सुरक्षा व्यवस्थापनका लागि भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा योजना बनाइएको उनले जानकारी दिए।