झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु
झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बाह्रदशी- ३ चकचकीका २० बर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ बुट्टावारीका १७ वर्षीय अशोक राजवंशी रहेका छन् । राजवंशीले चलाएको मोटरसाइकलको पछाडि ताजपुरिया बसेका थिए ।
गएराति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडक खण्डमा राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि धान काट्ने मेसिन गाडी घटनास्थलमै छाडेर चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको छ । राति १२।४५ बजे कानुनी प्रक्रियापश्चात् दुवै लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ ।