२०८३ मंसीर ५ गते , शुक्रबार

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

sajilo news
काठमाडौं
२०८३ मंसीर ४ गते , विहीबार
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल प्रवेश गरेको छ। 

सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको चितवन राइनोज भने प्रतियोगितामा तेस्रो हुँदै प्रतियोगिता सक्यो।  त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। 

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाउँदै १३६ रन बनाएर जित दर्ता गरेको हो। सुदूरपश्चिम रोयल्सका लागि थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रन बनाएर अविजित रहे। उनले ४२ बलमा ७ चौका प्रहार गरे। सुदूरपश्चिमको जितमा उनी नायक बने।
ओपनर विनोद भण्डारीले २३ रन बनाउँदा इशान पाण्डे १० रनमा कट एण्ड बोल्ड भए। कप्तान दिपेन्द्र सिंह ऐरी १५ रन बनाएर कट बिहाइन्ड भए। आरिफ शेख १० रनमा बोल्ड भए।  चितवन राइनोजका लागि रञ्जित कुमारले २ विकेट लिँदा कमल सिंह ऐरी, रिजन ढकाल, उसमा मिर र सलाउद्दिन खानले १–१ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको चितवन राइनोजका लागि डेविड मलानले ७१ रनको अर्धशतकीय पारी खले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनले सलाउद्दिन खानसँग सातौं विकेटको लागि ४० रनको साझेदारी गरे। सलाउद्दिन खानले १८ रन बनाउँदा कमल सिंह ऐरीले १० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रिजन ढकाल ३ रनमा अन्तिम बलमा रनआउट भएका थिए। 

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट कुगेलेइनले ३ विकेट लिँदा थारिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी र इशान पाण्डेले १–१ विकेट लिए।  तेस्रो हुँदै प्रतियोगिता सकेको चितवन राइनोजले ४० लाख प्राप्त गर्नेछ।  सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको फाइनल खेल शनिबार हुनेछ। यी दुई टोलीले नै दोस्रो संस्करणमा पनि फाइनल खेलेका थिए। पुनः यी दुई टोलीले फाइनल खेल्ने तय भएको हो।

सम्बन्धित समाचार