२०८३ मंसीर ६ गते , शनिबार

तीन महिनामा झापामा ४५ आगलागी, दुई जनाको मृत्यु, साढे १७ करोडको क्षति

sajilo news
रासस
२०८३ मंसीर ५ गते , शुक्रबार
तीन महिनामा झापामा ४५ आगलागी, दुई जनाको मृत्यु, साढे १७ करोडको क्षति

झापा । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ वटा घटना भएका छन् । ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भदौ, असोज र कात्तिक महिनामा आगलागी घटनाबाट जिल्लामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दशै-तिहार भएको कात्तिक महिनामा मात्रै २६ वटा आगलागी घटनाबाट मात्रै ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । कात्तिकमा भएका आगलागीबाट दुई जनाको मृत्यु भएको छ । गत असोज ३० गते अर्जुनधारा नगरपालिका–९ की ८३ वर्षीया कालिकादेवी तिम्सिना फोहोर जलाउने क्रममा गम्भीर घाइते भएकी थिइन् । उनलाई बीएण्डसी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा कात्तिक २ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।  त्यस्तै, कात्तिक ५ गते बिहान ४ बजेर १० मिनेटमा बिर्तामोड नगरपालिका–२ रामचोकस्थित रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको थियो । विद्युत् सर्ट भएर लागेको आगोमा परी गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, असोज महिनामा आगलागीका १२ वटा घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो । भदौ महिनामा सात वटा आगलागीका घटना भएका थिए । ती घटनाबाट १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार