सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइनको मोदी र बालेनले संयुक्त रुपमा उद्घाटन गर्दै
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइपलाइन निर्माणको उद्घाटन गरिने भएको छ । यही मंसिर ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा झापामा ग्रीनफिल्ड तेल भण्डारण टर्मिनल निर्माणको उद्घाटन गर्ने भएका छन् । सो आयोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुँदैछ ।
सम्झौता बमोजिम इन्डियन आयल कर्पोरेसनले भारतको सिलिगुडीदेखि नेपालको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र चारआलीमा १९ हजार पाँच सय किलोलिटर भण्डारण क्षमताको ‘स्मार्ट भर्टिकल ट्याङ्की’ र अत्याधुनिक ग्रीन टर्मिनल निर्माण गर्ने भएको छ ।
पाइपलाइन, ट्याङ्की र टर्मिनलको सम्पूर्ण लागत भारतीय पक्षले नै व्यहोर्ने छ । नेपाली पक्षले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन स्थल र चारआलीस्थित भण्डारण स्थलको जग्गा व्यस्थापन र समन्वय गर्नुपर्ने छ ।
त्यस्तै मोतीहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाअन्तर्गत दोस्रो चरणको कार्य सम्पन्न भएको करिब दुई वर्षपछि उद्घाटन कार्यक्रम तय भएको छ । प्रधानमन्त्री बालेन शाहको आइतबारदेखि हुने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले संयुक्त रूपमा पेट्रोलियम पाइपलाइन आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
दुई देशका प्रधानमन्त्रीले सोमबार बिहान १० बजेपछि संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।
निगमका प्रादेशिक डिपो प्रमुख अशोक साहले पाइपलाइनको दोस्रो चरणको आयोजना नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । सोही क्रममा अम्लेखगञ्ज डिपोमा राखिएको शिलालेख पनि उद्घाटन हुनेछ । दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा टर्मिनल परियोजनाको शिलान्यास जुन २०२३ (जेठ २०८०) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणका क्रममा गरिएको थियो।