जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद
धनकुटामा जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले महालक्ष्मी नगरपालिका–४ दमारस्थित स्थानीय तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान राति करिब २ः१५ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार जुवा खेलिरहेको खालबाट १६ वटा ठूला कौडा र नगद ५४ हजार रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, पक्राउ परेका २० जनाको साथबाट थप ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद भएको छ ।
जुवा खेलिरहेको खाल र पक्राउ परेका व्यक्तिहरूको साथबाट गरी कुल ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय तेजकुमार श्रेष्ठसहित धनकुटा महालक्ष्मी नगरपालिकाका विभिन्न वडाका व्यक्तिहरू रहेका छन् । उनीहरूमध्ये धनकुटाबाहेक भोजपुर, संखुवासभा, सुनसरी र दोलखाका बासिन्दासमेत छन् । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ का भरतराज कुँवर, तोर्णबहादुर बस्नेत, अशोक पौडेल र यामकुमार ठकुरी रहेका छन् ।
त्यस्तै, भोजपुर अरुण गाउँपालिका–६ का शान्तबहादुर राई र धर्मराज राई, भोजपुर नगरपालिका–४ का भरतमणि खड्का , संखुवासभाको खाँदबारी नगरपालिका–६ का मेघराज लिम्बू, चैनपुर नगरपालिका–१० का भक्तबहादुर दर्जी, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का गणपतकुमार खत्वे र दोलखाको कालिञ्चोक गाउँपालिका–९ का सविन थामी पनि पक्राउ परेका छन् ।
यसैगरी, महालक्ष्मी नगरपालिका–५ का दिनेश कार्की, अमृतकुमार पौडेल, हेमकुमार अधिकारी, यज्ञराज भारती र रामजी बुढाथोकी, महालक्ष्मी नगरपालिका–६ का गणेश भण्डारी र हरिकुमार जिमी तथा पाख्रिबास नगरपालिका–४ का सुरेन्द्रप्रसाद बजगाई पक्राउ परेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।