२०८३ मंसीर १० गते , बुधबार

रोजगारीको विज्ञापनदेखि अनलाइन ठगीसम्म, बिर्तामोडको इन्फर्माटेक्स टेकको भित्री धन्दा खुल्दै

sajilo news
झापा
२०८३ मंसीर १० गते , बुधबार
रोजगारीको विज्ञापनदेखि अनलाइन ठगीसम्म, बिर्तामोडको इन्फर्माटेक्स टेकको भित्री धन्दा खुल्दै

मंगलबार दिउँसो प्रहरीले छापा मारेको बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित इन्फर्माटेक्स टेक प्रालिको अनलाइन ठगी धन्दा खुल्दै गएको छ।

बिर्तामोड-५ मा रिवाज भेटवालले आफ्नै घरको तेस्रो र चौथो तलामा इन्फर्माटेक्स टेक प्रालिको कार्यालय सञ्चालन गर्दै आएका थिए । अनलाइनमार्फत विभिन्न व्यक्तिहरूको फोटो हाली फेक एकाउन्ट बनाउने, त्यसपछि ‘म पनि विदेशमा रहेको छु’ भन्ने भान पारी नचिनेका मानिसहरू विशेष गरी पुरुषहरूलाई महिला कर्मचारी प्रयोग गरी म्यासेज पठाउन लगाउने गर्दै आएका थिए । कामको प्रस्ताव लिने र काम गरिदिने भनी म्यासेजहरू पठाई पैसा माग्दै आएको खुल्न आएको छ ।

अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठक र प्रहरी निरीक्षक हिमाल समसेर राईको कमान्डमा गएको प्रहरी टोलीले छापा मारेको थियो । सो टोलीले २५ जना महिला र सञ्चालक भेटवालसहित ५ जना पुरुष गरी ३० जनालाई ल्यापटप र मोबाइलहरूमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ल्यापटप –२५ थान ,व्यक्तिगत फोन –२८ थान , कार्यालयको फोन सेट –८८ थान र डायरी १२ थान जफत गरेको छ । राति ९ बजे नियन्त्रणमा लिएका सबै जनालाई आज बिहान १० बजे कार्यालयमा उपस्थित हुने गरी आ–आफ्नो अभिभावक तथा आफन्तहरूलाई जिम्मा लगाइ प्रहरीले छोडेको छ । नियन्त्रणमा लिएको अन्य ल्यापटप र मोबाइलहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘इन्फर्माटेक्स टेकले हाम्रो टोलीमा सामेल हुन एक रचनात्मक, उत्साही, र समर्पित सामाजिक मिडिया ह्यान्डलर खोजिरहेको छ १यदि तपाईँसँग सामाजिक सञ्जाल, सामग्री व्यवस्थापन, र डिजिटल संलग्नताको लागि जोस छ भने, यो हामीसँग बढ्ने तपाईँको अवसर हो। हाम्रो टोलीको हिस्सा बन्नुहोस् र आफ्नो व्यावसायिक यात्रामा अर्को कदम चाल्नुहोस् १’ यस किसिमका झुक्क्याउने विज्ञापन गरेर सो कम्पनीले प्रलोभनमा पारी धेरै युवतीहरूलाई काममा लगाएको छ । त्यहाँ काम गर्ने अधिकांश युवतीहरू छन् । जसलाई गैरकानुनी कार्यमा प्रयोग गरिएको खुलेको छ ।

सम्बन्धित समाचार