२०८३ मंसीर १० गते , बुधबार

साउदी अरबको रियादमा हुथीको आक्रमण, नेपालीसहित ११ जना घाइते

sajilo news
रासस
२०८३ मंसीर १० गते , बुधबार
साउदी अरबको रियादमा हुथीको आक्रमण, नेपालीसहित ११ जना घाइते

साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका छन्।  

साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ। घाइते हुनेमा साउदी, भारतीय, नेपाली र इजिप्टका नागरिक रहेको सुरक्षा निकायले जनाएको छ। साउदी प्रेस एजेन्सीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ। घाइतेको पूरा विवरण भने खुलाइएको छैन। 

केही दिनको अन्तरालमा दोस्रोपटक आक्रमण भएको हो। यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ। तीनजना प्रत्यक्षदर्शीका अनुसार आक्रमणको निशानामा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)स्थित पीआईएफ टावर परेको थियो। यस भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय छ। गत बिहीबार पनि यो भवन आक्रमणमा परेको थियो।

सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जालमा वित्तीय केन्द्रको टावरमा ‘कायरतापूर्ण आतंकवादी हमला’ भएको बताएका छन्। समाचार एजेन्सी एएफपीलाई एक स्रोतले बताएअनुसार गत साताको आक्रमणबाट भएको क्षति मर्मत गर्न कामदारहरू टावरभित्रै रहेका बेला पुनः आक्रमण भएको थियो। घाइतेमध्ये कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

सम्बन्धित समाचार