व्याज र सावा ताकेता नगर्न बिर्तामोडका व्यवसायीको आग्रह
झापा । देशमा अहिले झापा जिल्ला मात्र पूर्ण रुपमा लकडाउन छ । यातायात निर्बाध रुपमा चलेका छन् । बिहान ९ बजेसम्म खाद्यान्न , तरकारी, फलफूल पसल खुल्ला गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । झापा जिल्लाको मुख्य बजार बिर्तामोडबाट विभिन्न जिल्लामा सामान जाने गर्दछ । मुख्य व्यावसायिक केन्द्र बिर्तामोड भएर पनि यहाँ व्यवसायीका समस्या पनि धेरै छन् । खोप चाहियो , खोप लगाएर आफूहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्यो भन्ने व्यवसायीको माग छ ।
स्थानीय सरकारले व्यवसायीहरूलाई खोपको व्यवस्था नगरेकोमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूको गुनासो छ । व्यवसायीहरूका समस्या धेरै छन् । सटर डाउन छ । यो अवस्थामा कर , घर भाडा , साहुको ताकेताको समस्या अनि बैकको व्याज तिर्ने समस्याले व्यवसायीलाई गाँजेको छ । यी समस्याहरूको केही हदसम्म समाधान गर्ने पहल बिर्तामोड उद्योग वाणिज्य सङ्घले थालेको छ । आन्तरिक राजश्व कार्यालयलाई अन्तःशुल्क तिर्ने समय थप गर्न माग गरिसकेको छ भने बिर्तामोडस्थित बैक र क्लबसँग सङ्घका पदाधिकारीहरुले छलफल गरेका छन् । यो लकडाउनको समयमा व्यवसायीहरूलाई व्याज र सावाको ताकेता नगर्न अनुरोध गरिएको सङ्घका कोषाध्यक्ष दीपेन्द्र राउतले बताए ।
सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीले व्यवसायीहरू यो बेला सबैतिरबाट चपेटामा परेको अवस्था रहेकाले चाँडै पुरानै अवस्थामा फर्कने प्रतिक्रिया दिएका छन् । बैकर क्लबका समितिले पनि बैक तथा वित्तीय संस्थाले यो अवस्थामा व्यवसायीलाई ताकेता नगरिएको तथा त्यस्तो कुनै कार्य भएमा लचकता अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ । बिर्तामोड बैकर क्लब अध्यक्ष सुवास श्रेष्ठ, सानिमा बैङ्कका अम्बिका खतिवडा,एनआइसी बैङ्कका दशरथ पराजुली,मुक्तिनाथ विकास बैकका हरि ओझा , गुडवील फाइनान्सका सुमन पौडेलसहित सङ्घबाट अध्यक्ष सिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , कोषाध्यक्ष दीपेन्द्र राउत , सदस्य जीवन खड्काको उपस्थिति रहेको थियो ।