२०८२ माघ ५ गते , सोमबार
झापाका सीमा क्षेत्र तस्करी : भारतीय एसएसबीद्धारा ५ लाखको कपडा र खुकुरी चुरोट बरामद
झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट तस्करी धन्दा फस्टाएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राउन लागेको ९ पोका कपडासहित दुई तस्करलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएसँगै नेपाल-भारत सीमा क्षेत्रमा अवैध कारोबार फस्टाएको हो ।
एसएसबी ४१ बटालियन कदोमनिको टोलीले सीमा पिलर ९४ नजिकैबाट मङ्गलवार ९ पोका लत्ताकपडा बरामद गरेको हो । कपडासहित भारतीय तस्कर क्षिरोत राय र घनश्याम शर्मालाई पनि एसएसबीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको कपडाको मूल्य नेपाली ५ लाख बढी रहेको जनाइएको छ । सो कपडा झापाबाट नेपाली बजारमा भित्राउने योजनामा तस्करी समूह रहेको बताइएको छ ।
बरामद गरिएको कपडासहित दुई जनालाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जनाएको छ । त्यस्तै एसएसबी १९ नम्बर बटालियन टोलीले नेपालबाट भारत भित्राइएको १३० प्याकेट खुकुरी चुरोट बरामद गरेको छ ।
१२८ नम्बर सीमा पिलर नजिकैबाट एसएसबीको धनतोला टोलीले सो परिणामको नेपाली ब्रान्डका चुरोट, एउटा मोटरसाइकल र एक जना तस्करीलाई मङ्गलवार नियन्त्रणमा लिएको छ । बरामद गरिएको चुरोटसहित तस्करीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । पछिल्लो समयमा चोरी निकासीबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिने र नेपालबाट सरसामान भारत पुर्याउने तस्कर गिरोह सक्रिय बनेका छन् ।