टी-२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा
झापा । इंग्ल्यान्ड युएईमा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति सुपर–१२ अन्तर्गत शारजाहमा भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो। इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।
उसका लागि वानिन्दु हसरंगाले ३४, भानुका राजपाक्षे र कप्तान दासुन शनाकाले २६-२६, चरित असलान्काले २१, अविष्का फर्नान्डोले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा मोइन अली, आदिल राशिद र क्रिस जोर्डनले २-२ तथा टिमल मिल्स र लियाम लिभिङ्स्टोनले १-१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। उसका लागि जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले ६७ बलमा ६ चौका र ६ छक्कासहित अविजित १०१ रनको योगदान दिए।
यो उनको टी–२० मा पहिलो शतक हो। यसका साथै जारी विश्वकपको पनि पहिलो शतक हो। यस्तै, इयान मोर्गानले ४०, जेसन रोयले ९ र डेविड मलानले ६ रन बनाए। यस्तै, वानिन्दु हसरंगाले ३ र दुष्मन्थ चमिराले १ विकेट लिए। चार खेलमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप–१ को समूह विजेता बन्दै जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। यसअघि इंग्ल्यान्डले पहिलो खेलमा साविक विजेता वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो।
दोस्रो खेलमा बंगलादेशविरुद्ध ८ विकेटको जित निकाल्दा तेस्रो खेलमा अष्ट्रेलियामाथि पनि ८ विकेटको प्रभावशाली जित हात पारेको थियो। हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको श्रीलंका दोस्रो खेलमा अष्ट्रेलियासँग ७ तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो। समूह–१ को दोस्रो स्थानमा दक्षिण अफ्रिका र तेस्रो स्थानमा अष्ट्रेलिया छन्।