२०८२ फाल्गुन २८ गते , विहीबार

पेट्रोलियम व्यवसायी आन्दोलित, चैत २० गतेदेखि पेट्रोल पम्प बन्द गर्ने चेतावनी

sajilo news
झापा
२०७८ चैत्र १६ गते , बुधबार
पेट्रोलियम व्यवसायी आन्दोलित, चैत २० गतेदेखि पेट्रोल पम्प बन्द गर्ने चेतावनी

मेची पेट्रोलियम डिलर्स एसोसिएसनले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेस गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यबद्धता जनाएको छ ।

एसोसिएसनले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी र नेपाल आयल निगम चारआली डिपोका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन गर्न माग गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्मालाई ज्ञापन पत्र बुझाइएको मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइरालाले जानकारी दिए । अध्यक्ष कोइरालाले ब्यवसायीहरुको मागको सम्बोधनमा सम्बन्धित पक्षले चासो नदिँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्थाको सिर्जना हुने चेतावनी दिएका छन् ।

नेपाल एलपि ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सम्बद्ध राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगम समक्ष तत्काल पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेको छ ।

समन्वय समितिले आयल निगमको एलपीजी र विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र संशोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडा दर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत लागू गर्न, निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार यथाशीघ्र लागू गर्न माग गरिएको छ ।

यस्तै पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागू हुने गरी साबिकको व्यवस्था अनुसार कायम गर्न तथा पेट्रोलियम विक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागू गर्नुपर्ने माग गरिएको छ ।

समन्वय समितिले डिजेलको मूल्य अत्यधिक वृद्धि भएता पनि एल।पी। ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक साधनको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था लागु गर्न माग गरिएको छ ।

समन्वय समितिले नेपाल आयल निगमसँग प्रस्तुत गरेका माग पुरा गराउन विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जस अनुसार चैत ५ देखि १५ सम्म स्थानीय स्तरका पेट्रोलियम, एल।पी।, ढुवानी व्यवसायी संघ संस्थाका प्रतिनिधि सम्मिलित आन्दोलन समिति गठन, उपभोक्ता, पत्रकार, स्थानीय प्रशासन, मजदुर संघ संस्था एवं सरोकारवाला सँग समन्वय गरी अन्तरक्रिया र प्रचार प्रसार गर्ने, चैत ६ गतेबाट एल। पी। ग्यास उद्योगहरूले आयल निगमबाट पी।डी।यो। खरिद नगर्ने र चैत १० गतेबाट सम्पूर्ण एलपि ग्यास उद्योगहरूले भारतका सबै रिफाइनरीहरुबाट ग्यास लोड बन्द गर्ने कार्यक्रम रहेको थियो ।

यस्तै चैत १४ गतेबाट ग्यास उद्योगहरूले सबै नाकाहरूबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ बाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पी।डी।यो। नलिने, चैत १७ बाट ग्यास उद्योगहरूले विक्रेताहरूलाई विक्री वितरण बन्द गर्ने तथा चैत १८ बाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङरअनलोडिङ बन्द गर्ने र विक्रेताहरूले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने कार्यक्रम रहेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले जानकारी दिए ।

 

समन्वय समितिले प्रस्तुत गरेका माग पुरा नभएसम्म चैत २० गतेबाट देशव्यापी रुपमा एलपी ग्यास उद्योग र ग्यास विक्रेताहरूले ग्यास, पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी तथा पेट्रोलियम विक्रेताहरूले विक्री स्थल एवं पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको बताइएको छ । आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन एसोसिएसन विभिन्न दबाब मूलक कार्यक्रम गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार