झापामा कबड्डी र आर्चरी खेल शुरु
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरूमध्ये सोमबार कबड्डी र आर्चरी खेल शुरु भएको छ ।
मेची रंगशालाको कभर्डहलमा कबड्डी र भद्रपुर ५ स्थित होटेल एभरेटमा आर्चरीको खेल शुरु भएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगण दुर्वासा कार्कीले जानकारी दिए ।
मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले दुवै खेलको एकैसाथ उद्घाटन गरे ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको व्यस्ताका बाबजुद झापा खेलकुदमय भएको बताउँदै खेलकुदले राष्ट्रको पहिचान बोक्ने भएकोले उत्कृष्ट प्रदर्शन गर्न खेलाडहिरुलाई आग्रह गरे ।
समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन र कबड्डी खेलका संयोजक धर्मराज सिवाकोटीले स्वागत गरेको समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, कबड्डीको पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कबड्डीका प्रशिक्षक रतिया राजवंशीले प्रशिक्षक, निर्णायक तथा रेफ्रीहरुको तर्फबाट शपथ लिएको सो समारोहका बीच प्रदेशस्तरीय छनोट प्रतियोगितामा आईटीएफ तेक्वान्दोतर्फ झापालाई स्वर्ण पदक दिलाउने खेलाडीहरूलाई उद्घाटन समारोहमा सहभागी उद्योगी तथा खेल प्रेमी दीपेश ढकाल, नितेश वर्मा, तोया गड्तौलालगायतले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।
झापामा प्रदेशस्तरीय महिला क्रिकेट, महिला भलिबल र खो–खोका खेल सम्पन्न भइसकेका छन् भने तेक्वान्दो र ब्याडमिन्टनका खेल जारी छन् । बक्सिङ र शारीरिक सुगठनका खेलहरू बुधवार शुरु हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णु नेम्बाङले जानकार दिए ।