२०८३ बैशाख १० गते , विहीबार

नव युवा गोल्डकपः काँकडभिट्टालाई हराउँदै रथखोला भारत सेमिफाइनलमा

sajilo news
झापा
२०७९ आश्विन १० गते , सोमबार
नव युवा गोल्डकपः काँकडभिट्टालाई हराउँदै रथखोला भारत सेमिफाइनलमा

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा भारतको रथखोला एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रथखोलाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा काँकडभिट्टाले लिएको अग्रतालाई उल्टाउँदै रथ खोलाले उत्कृष्ट कम ब्याक गर्‍यो । १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै रथ खोलाले ३ २ गोलले काँकडभिट्टालाई पराजित गरेको हो ।खेलको १०औँ मिनेटमा काँकडभिट्टाका लागि पर्शु राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, अग्रतालाई जोगाउन नसक्दा काँकडभिट्टाले हार स्वीकार गर्न बाध्य भयो । रथ खोलाका अंकित मिञ्जले खेलको २३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै उनैले ३५औँ मिनेटमा थप गोल गरेर टिमलाई उत्कृष्ट कम ब्याक गराएका हुन् । रथ खोलाकै कार्तिक कोजुरले खेलको ४९औँ मिनेटमा गोल गरेर ३–१ गोलको अन्तर दिलाए ।

काँकडभिट्टाले ५१औँ मिनेटमा गोल गरेर खेलमा फर्कने प्रयास गरे पनि सफल भने हुन सकेन । काँकडभिट्टाका लागि मिलन गुरुङले गोल गरेका थिए । काँकडभिट्टा पहिलो खेलबाटै बाहिरिएको छ ।

रथ खोलाका कोजुर खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाले नगद १५ सय प्रदान गरे । खेलकुद क्षेत्रको प्रवर्द्धन एवम् विजया दशमीको अवसरमा गोल्डकप आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए ।

 

भोलि (मङ्गलवार)को खेल सैनिक एफसी बिर्तामोड र दमक एफसी दमकबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार