२०८३ बैशाख १० गते , विहीबार

पथरी शनिश्चरे खुदुनाबारी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश 

sajilo news
झापा
२०७९ आश्विन १० गते , सोमबार
पथरी शनिश्चरे खुदुनाबारी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश 

अर्जुनधारा । मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रोयल क्लब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

पथरी मोरङलाई सेमिफाइनलमा प्रवेश गराउन खेलको एक मात्रै गोल विना चेमजुङले गरिन । उनले खेलको ३१ औं मिनेटमा दमकका खेलाडीले डी–बक्स एरिया भित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै आफ्नो टिमका लागि एक मात्रै गोल गरेकी थिइन् । आजको खेलमा बिन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद पुरस्कार १ हजार सहित ट्रफी हात पारिन् ।

अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रङ्गशालामा भएको खेलमा झापाको रोयल क्लब दमकले समेत पेनाल्टीको अवसर पाएको थियो । तर गोल भने गर्न सकेन । पहिलो हाफमा पाएको पेनाल्टीको अवसरलाई टिम क्याप्टेन विष्णु लिम्बुले गोलपोष्ट भन्दा बाहिर बल प्रहार गरेपछि दमक पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी यूथ क्लब ९सीवाईसी०ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रवर्धक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो वर्ष महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

 

गोल्डकपको तेस्रो खेलमा भोलि मङ्गलवार गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङबिच प्रतिस्पर्धा हुने छ । भोलिको खेलमा सहभागी हुने टिमहरू झापा आइसकेको आयोजकले बताएको छ । 

सम्बन्धित समाचार