२०८३ बैशाख १० गते , विहीबार

धनकुटा सेमिफाइनलमा, आज अर्जुनधारा र गाईघाट भिड्दै

sajilo news
झापा
२०७९ आश्विन १३ गते , विहीबार
धनकुटा सेमिफाइनलमा, आज अर्जुनधारा र गाईघाट भिड्दै

धनकुटा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (बुधवार) सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो । 

धनकुटालाई सहजै जित दिलाउन खेल सुरु भएको ४ मिनटमा अञ्जना थुलुङ राईले पहिलो गोल गरिन् । त्यसपछि धनकुटाका लागि अन्जनाले नै खेलको १६ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । धनकुटाका लागि पहिलो हाफको २१ औं मिनेटमा रजिना मगरले तेस्रो गोल गरिन् । त्यस्तै टिमलाई ४–० गोलको अग्रता दिलाउन धनकुटाका लागि २५ औं मिनेटमा सन्ध्या रम्तेलले चौथो गोल गरिन् । 

६० मिनेटको निर्धारित समयमा पहिलो हाफमा ४ गोल गरेको धनकुटा महिला फुटबल क्लबले दोस्रो हाफमा भने गोल थप्न सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सुनसरी जिल्ला फुटबल संघले रक्षात्मक खेल खेले पनि गोल भने फर्काउन सकेन । 

आजको खेलमा टिमको लागि २ गोल गर्ने धनकुटाकी अञ्जना थुलुङ राई उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् । गोल्डकपको पहिलो सेमिफाइनलमा आज (बिहीबार) आयोजक जुनतारा महिला फुटबल क्लब अर्जुनधारा र गाईघाट फुटबल क्लब उदयपुर बिच प्रतिस्पर्धा हुने छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । खुदुनाबारी गोल्डकपको चौथो खेलमा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी यूथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । 

सम्बन्धित समाचार