रोगले धमाधम कुहिन थाल्यो अदुवा, विकल्प खोज्दै इलामका किसान
इलाम । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर केही समययता गानो कुहिएर बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादक मारमा परेका छन्।
रोगले बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन्। फलस्वरूप जिल्लामा अदुवा उत्पादनमा ह्रास आएको छ। तर रोगका कारण किसानले अदुवा खेती गर्न छाड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए। ‘इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसकोआम्दानीले घर खर्च चलाउँदै आएका छौँ। तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ,’ उनले भने, ‘अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ।’
गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए। ‘शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ’, उनले भने। अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ। गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ।
अदुवा खेती गर्दै आएका किसान जगनाथ अधिकारी भन्छन्, ‘रोप्नुअघि नै बिउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ।’ ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रिनेवित्तिकै मर्न थालेपछि किसानले वैकल्पिकरूपमा एभोकाडो र ड्रागनलगायत खेती गर्न थालेका छन्।
उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेको व्यापारी जीवन पोखरेल बताउँछन्। उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन्।
चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ। रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ। स्थानीय, प्रदेश र संघीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ। प्रोत्साहनस्वरूप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन्। खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन्।
इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए। गत वर्ष ५० हजार ९५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए। ‘उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ’, प्रमुख बर्देवाले भने।
किसानले गत वर्ष तीन हजार २२५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यो वर्ष तीन हजार २१० हेक्टरमा मात्र खेती गरेका उनले बताए।