२०८३ बैशाख ४ गते , शुक्रबार

सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादनमा सहयोग

sajilo news
झापा
२०८१ जेष्ठ २२ गते , मंगलबार
सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादनमा सहयोग

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समूहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गरेको छ । 

मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो  नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ किसानलाई आकर्षित गर्दै त्यस तर्फ प्रोत्साहन गर्न नगरपालिकाले बजेट विनियोजन नै गरेर सहयोग पुर्‍याई रहेको छ । 

किसान सँग प्रत्यक्ष जोडिएर उनीहरूको आर्थिक स्तरोन्नतिमा थोरै भए पनि टेवा पुर्‍याउने लक्ष सहित नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरिरहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही कार्यक्रम मध्ये एक सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम पनि रहेको उनको भनाइ छ ।

किसानलाई उत्पादनमूलक क्षेत्रमा जोडेर आत्मनिर्भर बनाउन सकियो भने मात्रै अबको समयमा कृषि क्षेत्र र किसान वर्ग जोगिने हुँदा यसतर्फ स्थानीय सरकारको नाताले आफूहरू सचेत रहेको उनको भनाइ छ । 

नगरपालिकाले सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम अन्तर्गत मेचीनगर १ बासे स्थित मेची कृषक सुपारी समूहलाई ८० प्रतिशत अनुदान कार्यक्रम मार्फत नगद दुई लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मेची कृषक किसान समूहले उक्त कार्यक्रम आजबाट सुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख बुढाथोकीले गरेका छन् । कार्यक्रममा सुपारी खेतीका अभियन्ता नीलकण्ठ तिवारी, मेची कृषक सुपारी समूहका अध्यक्ष रत्नबहादुर कार्की, उपाध्यक्ष खड्गबहादुर राईलगायत अन्य पदाधिकारी तथा किसानहरूको सहभागिता रहेको थियो ।

नगरपालिकाले सुपारी खेती विस्तारका लागि ८० प्रतिशत अनुदान कार्यक्रम मार्फत बेर्ना उत्पादन कार्यक्रमका लागि मेची कृषक किसान समूहसँगै मेचीनगर ९ र १२ का किसानलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । साथै उक्त सहयोग मार्फत उत्पादन भएको सुपारीको बिरुवा सहुलियत मूल्यमा मेचीनगरका किसानलाई आवश्यकताका आधारमा उपलब्ध गराइने छ ।

सम्बन्धित समाचार