२०८१ भाद्र २४ गते , सोमबार

लागुऔषध हेरोइन तस्करी गर्नेलाई फाँसी दिइयो

sajilo news
रासस
२०८१ श्रावण २३ गते , बुधबार
लागुऔषध हेरोइन तस्करी गर्नेलाई फाँसी दिइयो

सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन्। संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। 

सिङ्गापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दावी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन्।

“दण्डित ५९ वर्षीय सिङ्गापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा मृत्युदण्डको दिइएको हो,” सेन्ट्रल नार्कोटिक्स ब्युरो (सिएनबी)ले एक विज्ञप्तिमा जनाएको छ। उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। 

सिङ्गापुरको लागुऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ। “उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,” सिएनबीले भन्यो।

“उहाँले आफूलाई लागेको आरोप र सजायविरूद्ध पुनरावेदन गर्नुभएको थियो तर पुनरावेदन अदालतले सन् २०२२  मे ११ मा उहाँको अपिल खारेज गरेको हो। राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अनुरोध पनि अस्वीकार गरिएको थियो।”

सिङ्गापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो। सिङ्गापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो। 

सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५  वर्षीय बङ्गलादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो। 

एएफपीको तथ्याङ्कअनुसार सिङ्गापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ। कोभिड–१९  महामारीको समयमा सिङ्गापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो। 

सम्बन्धित समाचार